logo
२०८० चैत्र १५ बिहीवार

  गण्डकी प्रदेशमा कोरोना संक्रमण  



मृतक संख्या ३२, अधिकांश दीर्घरोगी, धेरैको सङ्क्रमण स्रोत खुलेन

प्रदेश |


मृतक संख्या ३२, अधिकांश दीर्घरोगी,  धेरैको सङ्क्रमण स्रोत खुलेन


चन्द्रप्रकाश शर्मा
पोखरा, असोज ४ गते । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड– १९ को सङ्क्रमणबाट मृत्यु हुने अधिकांशको सङ्क्रमण स्रोत पत्ता लाग्न सकेको छैन् । गण्डकी प्रदेशमा शुक्रबारसम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएका ३२ जनामध्य तीन जना विदेशबाट आएर क्वारेन्टीनमा बसेका बाहेक अन्य समुदाय स्तरकै सङ्क्रमित थिए ।
गण्डकी प्रदेशमा मृत्यु भएका पहिलो सङ्क्रमित स्याङ्जाका पुरुष, तेस्रो सङ्क्रमित गोरखाका पुरुष र चौथो सङ्क्रमित बागलुङका युवा विदेशबाट आएर क्वारेन्टीनमा बसेका थिए । गण्डकी प्रदेशका दोस्रो मृतक स्याङ्जा सिरुवारीमा व्यवसाय गरी बस्ने एक पुरुषको मृत्यु भए पनि उनको सङ्क्रमण स्रोत अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म मृत्यु भएका ३२ जनामध्य धेरैजना दीर्घरोगी र कहाँबाट सङ्क्रमण भयो भन्ने पत्ता नलागेका व्यक्ति छन् । गण्डकी प्रदेशमा स्थायी ठेगाना भई अन्य जिल्लामा सङ्क्रमण पुष्टि भई मृत्यु भएकालाई प्रदेशकै सूचीमा राखेकाले मृतकको संख्या ३२ पुगेको निर्देशनालयले जनाएको छ ।
पोखरामा व्यवसायी गरी बस्ने एक चिनियाँ नागरिक, काठमाडौंमा मृत्यु भएका म्याग्दीका एक बालक, वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएकी गोरखाका दुई महिला र कास्कीका एक महिला, शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएका तनहुँका एक महिला र एक पुरुष, सशस्त्र प्रहरी बल अस्पतलामा मृत्यु भएका कास्कीका एक पुरुषलाई समेत प्रदेशको सूचीमा राखिएको थियो । गण्डकी प्रदेशका सबै जिल्लाका स्थानीय तहमा स्वाब सङ्कलन गरी परीक्षण, सबै स्थानीय तहमा क्वारेन्टीन, सबै जिल्लामा आइसोलेसन रहे पनि अन्य जिल्लामा गएर परीक्षण तथा उपचार गराएकाको सूचीसमेत गण्डकी प्रदेशमै राखिएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताउनुभयो ।
जटिल प्रकारका सङ्क्रमितको उपचारका लागि आइसीयू तथा भेन्टिलेटर आवश्यक पर्ने भए पनि गण्डकी प्रदेशका पोखराबाहेक अन्य जिल्लामा आइसीयू सञ्चालनमा आइनसकेकाले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चितवनका अस्पतालमा सङ्क्रमितलाई उपचारका लागि पठाउनुपर्ने अवस्था थियो । सबै जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु कक्षा सञ्चालनमा ल्याउने तयारी गरे पनि मेसिन जडान, जनशक्ति अभावमा सबै जिल्लामा सञ्चालन हुनसकेको छैन ।
कोरोनाबाट मृत्यु भएकामध्य पोखराका ३२ वर्षीय युवती, आन्द्राको अप्रेसन गरेका पोखराकै पुरुषबाहेक अन्य प्रायजसो क्यान्सर, मृगौलासम्बन्धी रोगबाट ग्रसित, श्वासप्रश्वास, निमोनिया, मधुमेहलगायतका रोगबाट ग्रसित थिए । ‘अहिलेसम्म मृत्यु भएका केही कुनै दीर्घरोग नभएका भए पनि अधिकांश दीर्घरोगबाट ग्रसित भएर नियमित औषधि सेवन गर्ने छन् ।’ गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक शर्माले भन्नुभयो ।
निर्देशनालयका अनुसार अहिलेसम्म ७८३ जना सङ्क्रमित रहेको कास्कीमा ११ जना, ७४८ जना सङ्क्रमित रहेको पूर्वी नवलपरासीमा ६ जना, २३८ जना सङ्क्रमित रहेको गोरखामा ६ जना, ३६७ जना सङ्क्रमित रहेको तनहुँमा ४ जना, ३७७ सङ्क्रमित रहेको स्याङ्जामा ३ जना, ३३३ जना सङ्क्रमित रहेको बागलुङमा एक जना र ५० जना सङ्क्रमित रहेको म्याग्दीमा एक जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?