logo
२०८१ बैशाख १२ बुधवार



इच्छाकामना गाउँपालिकामा १० शय्याको आइसोलेशन

प्रदेश |


इच्छाकामना गाउँपालिकामा १० शय्याको आइसोलेशन
फाईल तस्विर


चितवन, असोज ३ गते । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो ।

स्वास्थ्य शाखा प्रमुख वासु सापकोटाका अनुसार सो गाउँपालिकामा हालसम्म १३ जना सङ्क्रमित पुगेका छन् । तीमध्ये आठ जनामा हाल पनि सङ्क्रमण रहेको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङले सङ्क्रमित थपिएको अवस्थामा थकाली सेवा समाजको भवनमा थप पाँच श्यया विस्तार गरिने छ । यस्तै फिस्लिङमा पनि आइसोलेशन सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

हाल क्वारेन्टिन बनाइएका विद्यालयमा पनि आइसोलेशन बनाउन सकिने गुरुङको भनाइ छ । गाउँपालिकाले गरेको मेहेनत र स्थानीय जनताको साथ र सहयोगकै कारण हालसम्म सङ्क्रमण फैलन नपाएको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालना गर्न गाउँवासीलाई अनुरोध गर्नुभयो । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५१४ पुगेको छ ।

पिसिआरमा अतिरिक्त शुल्क

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क रु दुई हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमूना सङ्कलनका लागि रु ५०० अतिरिक्त शुल्क अस्पतालले लिँदै आएको छ । उहाँले भन्नुभया,े “अस्पताल सञ्चालक समितिले निर्णय गरेकाले हामीलाई घटाउने अधिकार छैन ।” रिएजेण्टहरुको बोलपत्र भएकाले अबको खरिदमा मूल्य घटेमा समितिको बैठकले घटाउने निर्णय गर्ने उहाँको भनाइ छ । अस्पतालले भिटिएमसहित खर्चका लागि भन्दै स्वाब सङ्कलनमा अतिरिक्त रकम उठाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले पिसिआर परीक्षणमा रु दुई हजारभन्दा बढी कसैले लिन नपाउने बताउनुभयो । कसैले अटेर गरेमा कारवाही गरिने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अतिरिक्त शुल्क लिएको विषयमा आँफूले बुझ्ने जानकारी दिनुभयो । यहाँ भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा परीक्षण निःशुल्क गरिएको छ भने चितवन मेडिकल कलेजले रु दुई हजार मात्र लिएको छ ।

एक क्वीन्टल गाजासहित दुई पक्राउ

प्रहरीले एक क्वीन्टल गाजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति नगरपालिका–११ का २४ वर्षीय पदमबहादुर मोक्तान र २५ वर्षीय दोर्जे तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । निजहरुको साथबाट गाजा बोक्न प्रयोग गरेको ना ३९ प २२५८ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक सूर्य थापाले गाजा बरामदपछि खोज तलासका क्रममा निजलाई बिहीबार दुई बजे भण्डारा चोकबाट पक्राउ गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय भण्डाराको गस्ती टोलीले भदौ २१ गते राति राप्तीको दवाडीचोक नजिक पम्फा खोला किनारमा पाँच बोरा पोका बनाई राखेको एक क्वीन्टल गाजा बेवारिसे अवस्थामा बरामद गरेको थियो । सो पश्चात् अनुसन्धानका क्रममा उनीहरुलाई मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकालाई बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको उहाँको भनाइ छ । सो घटनामा सङ्लन रहेको आशंका गरिएको एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?