logo
२०७७ असोज २ शुक्रवार

चेतनाको दैलो

विचार/दृष्टिकोण |


2020-09-17-22774


डा. दिनेशराज भुजू

आठौँ राष्ट्रिय विज्ञान दिवस हामी कोरोना कहरबीच मनाउँदै छौँ । दिवस निश्चित थियो, आगामी वर्षको पात्रोमा पनि हुनेछ तर कोरोना कहिलेसम्म रहने हो ? मानिस अनभिज्ञ छ । मानिसले आफ्नै तर्क र मान्यतामा असोज १ गतेलाई विज्ञान दिवस भनी निर्णय ग¥यो । तर, कोरोना भाइरस उसको निर्णयमा होइन, प्रकृतिको नियमभित्र रहेर अवतरण ग¥यो । यो कुरा मानिसले बढीमा अनुमानसम्म गरेको थियो, बानीव्यहोरा पटक्कै थाहा थिएन, यसैले भनिदियो– नवीन कोरोना भाइरस ।
भाइरस त विषाणु हो । यो नयाँखाले विषाणुमा मानिसले मुकुट
(लेटिन) वा माला (ग्रीक) लगाएकोजस्तो वस्तु देख्यो, नामकरण ग¥यो कोरोना भाइरस । उसले सिधै देखेको त होइन, इलेक्ट्रोन माइक्रोस्कोपबाट देखेको हो ।
सय वर्षअघि स्पेनिस फ्लु मच्चिँदासम्म इलेक्ट्रोन माइक्रोस्कोप थिएन । भाइरस १८९२ मा पत्ता लागेको थियो, देख्न सकिएको थिएन । यो चुरोट लोकप्रिय हुँदाको कुरा हो, धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा मानिसलाई थाहा थिएन । सन् १९५० मा ब्रिटिस मेडिकल जर्नलमा एक वैज्ञानिक रचना छापिएपछि बल्ल यतातिर तिनको ध्यान गएको हो । सुर्ती कम्पनीहरू निकै नाफामा चल्थे । सुर्तीको पातमा एकप्रकारको धब्बा देखिन थाल्यो । वैज्ञानिक इभानोबस्कीले अनुसन्धान गरे र भने– यो कुनै जीवाणु (ब्याक्टेरिया) बाट भएको हुनुपर्छ । तर असर (धब्बा) देखियो, असरको कारक (जीवाणु) देखिएन । ती जीवाणु फिल्टर–पेपर (छान्ने कागज)बाट समेत छिर्थे । किनकि ती जीवाणु होइन, विषाणु (भाइरस) थिए ।
भाइरसलाई देख्नु विज्ञानका लागि अपरिहार्य भयो, किनभने युरोपमा मानिसको चिन्तन–ज्ञानमा टेकेर उठेको तर्कवाद (रासेनालिज्म) भन्दा अघि बढेर अवलोकनलाई जग बनाउँदै अनुभववाद (इम्पिरिसिज्म) को वैचारिक ‘डिस्कोर्स’ले प्रवेश गरिसकेको झन्डै दुई सय वर्ष भइसकेको थियो, यदि जोन लक (१६३२–१७०४) लाई अनुभववादको पूर्ण व्याख्याता मान्ने हो भने । अनुभववादका प्रणेता फ्रान्सिस बेकन (१५६१–१६२६) ले भनेका थिए, ‘सबभन्दा ठूलो प्रमाण अनुभव हो ।’ र थपे, ‘यसको आधार व्यवस्थित (एकप्रकारले यान्त्रिक) अवलोकन हो ।’
अवलोकनको एउटा इन्द्रिय मानिसको आँखा हो । उसले देख्न सक्ने सबभन्दा सानो अंश भनेको शून्य दशमलव एक मिलिमिटर हो । प्रकृतिमा सबभन्दा ठूलो भाइरसको आकार ७५० न्यानोमिटर
(०.०००७५ मिमि) हुन्छ । अर्थात् हाम्रो दृष्टि क्षमताभन्दा भाइरस धेरै नै सानो छ । सन् १९३१ मा अर्नस्ट रुस्का र म्याक्स नोलले वस्तुको चार सय गुना ठूलो देखिन सकिने शक्तिशाली सूक्ष्मदर्शक यन्त्रको आविष्कार गरेपछि ३९ वर्षदेखिको फिल्टर पेपरबाट समेत छिर्ने रहस्यमय ‘जीवाणु’को संरचना थाहा लाग्यो । मानव स्वास्थ्य सेवाका लागि यो ठूलो आविष्कार थियो ।
तर, मानिस अझ पनि भाइरसको अस्तित्वबारे प्रश्न गर्छन् र आशङ्काको कथा रच्छन् । यो स्वाभाविक हो, किनभने यसप्रकारको यन्त्र दुर्लभ छ । नेपालमा चालु अवस्थाको इलेक्ट्रोन माइक्रोस्कोप सम्भवतः एक ठाउँमा, राष्ट्रिय कृषि अनुसन्धानशालामा मात्र उपलब्ध छ । सुलभ माइक्रोस्कोप पनि विज्ञान पाठ्यक्रम र परीक्षाको प्रश्नोत्तरमा सीमित छ, जनविज्ञानको तहसम्म त्यो पुग्नै बाँकी छ ।
नेपालमा १३ हजारभन्दा बढी माध्यमिक विद्यालय छन् । ती प्रत्येकसित कमसेकम एउटा सूक्ष्मदर्शक यन्त्र होला नै वा हुनुपर्छ । ती विद्यालयले आफ्नो वार्षिकोत्सवको दिन अभिभावकलाई सूक्ष्मदर्शक यन्त्रबाट दूषित पानीका कीटाणुहरू देखाइएमा तिनमा चेतना जाग्ने थियो । चेतनाको दैलो अवलोकन हो, जुन वैज्ञानिक संस्कारको प्रारम्भ पनि हो । वस्तुको अवलोकनले मानिसमा विश्वास पैदा गर्छ । वस्तुमाथिको विश्वासले अन्धविश्वासलाई पराजित गर्छ । अवलोकनमा आधारित चिन्तनको कमीमा छद्म विज्ञानले मौका पाउँछ । छद्म विज्ञान अन्धविश्वासमा विज्ञानको मोलम्बा हो । यसैले यो झट्ट सुन्दा विज्ञानजस्तै लाग्छ । तर, ज्यादै खतरनाक हुन्छ किनभने यसले समाजलाई दिग्भ्रमित गर्छ । कल्पनाबाट सिर्जित त्रेतायुगको पौराणिक कथामा वास्तविकताको प्रामाणिकता खोज्ने आदेश दिनु यसको एउटा उदाहरण हो । हात्तीको शिर सिउरिएका गणेशको मूर्ति देखाएर हाम्रा पुर्खाहरूले पाँच हजार वर्ष पहिले अङ्ग प्रत्यारोपणको प्रविधि विकास गरेका थिए भन्नु यस्तै अर्को छद्म विज्ञानको प्रवद्र्धन हो ।
छद्म विज्ञानका प्रवक्ताहरू प्रश्न रुचाउँदैनन् । आफ्नो हाइपोथेसिस (अनुमान, कल्पना)लाई नै उनीहरू अन्तिम सत्य भनी जिद्दी गर्छन् । यसको ठीकविपरीत विज्ञानले कसैलाई पनि प्रश्न गर्न वर्जित गर्दैन । विज्ञानको पहिलो पाठ सन्देह गर्न उत्प्रेरित गर्नु हो । षड्यन्त्र सिद्धान्त (कन्स्पिरेसी थ्यौरी)का पछुवाहरूलाई पनि यो स्वतन्त्रताको छुट छ । विज्ञानले दिएको यो छुटको उपभोग कहाँसम्म देखिन्छ भने विज्ञानप्रति अनास्था जगाउनेहरू विज्ञानकै हतियार प्रयोग गर्छन् । आजभोलि इन्टरनेटले दिएको सुविधा, सामाजिक सञ्जालको, त्यसमा देखिने विज्ञानविरोधी नारा र टेलिभिजन बहस यसका उदाहरण हुन् । विज्ञानमाथि भरोसा नराख्नेहरू विज्ञानकै साधन प्रयोग गरी वैज्ञानिकको हेलाँ–होचो गर्छन् । आजका लागि यो स्थिति विडम्बनाजस्तो देखिन्छ तर भोलिको पुस्ताका लागि भने यो जोक
(उपकथा, ठट्यौली) हुनेछ ।
भोलिको पुस्ता कस्तो हुनेछ ? यो वर्तमानको शिक्षामा निर्भर हुनेछ । शिक्षाको पाठ्यक्रम सचेत समाजले तयार गर्ने हो । कोरोना भाइरस जब हाम्रा विमानहरूबाट आवत–जावत गर्न थाले, हामीले विमानस्थलहरू बन्द गरिदियौँ, जब सडकमा तिनीहरू रुमल्लिन थाले, सबै यातायात रोकिदियौँ । कार्यालय, स्कुल÷कलेज, पुस्तकालय, प्रयोगशाला सबै–सबैको ढोकामा साँचो लगाइदियौँ । हाम्रा ३६ हजार विद्यालय र दुई हजार क्याम्पस बन्द ग¥यौँ । विद्यालयमा करिब डेढ लाख शिक्षक–शिक्षिका र विश्वविद्यालयमा त्यस्तै २० हजार प्राध्यापक कार्यरत छन् । वैज्ञानिक र प्राविधिक जनशक्ति पनि हामीकहाँ करिब ९० हजार रहेको अनुमान छ । हाम्रा यी संरचना र क्षमता यस महाव्याधिमा कति सक्रिय हुन सके ? यसको मूल्याङ्कन र सिकाइ भोलिको पुस्ता निर्माणका लागि महŒवपूर्ण आधार हुनेछ ।
भोलि समय सारिणिको एउटा निश्चित दिन हो तर त्यसको अस्तित्व मानिसको आयामभित्र मात्र छ, जुन सीमित छ । अन्तरीक्षमा भोलि वा पर्सि कहाँ हुन्छ र ! यो पृथ्वीभित्र पनि भोलि के हुन्छ र कस्तो हुन्छ, त्यो अनिश्चित छ । किनकि पृथ्वीमा प्रकृतिको नियम चल्छ । विज्ञानले प्रकृतिको नियम बनाउँदैन, प्रकृतिको नियम पत्ता लगाउँछ । भ्रम यो छ कि विज्ञानले प्रकृतिमाथि विजय हासिल गर्नेछ । कोरोना भाइरसको सन्दर्भमा, जब मानिसलाई बचाउने ओखती तत्काल पाइएन उसले भनिदियो– विज्ञानले पनि सकेन । तर, प्रकृतिमाथि विजय हासिल गर्नु छ भनेर विज्ञानकर्मीले कहिल्यै सोचेको हुँदैन । वैज्ञानिकलाई प्रकृतिमाथि विजय हासिल गर्नु छैन, अवैज्ञानिक चिन्तनको अँध्यारोलाई हटाउनु छ । प्रकृतिको नियम हुन्छ, त्यो जान्ने हुटहुटीले वैज्ञानिकलाई सताउँछ ।
यस्तो हुटहुटी आइज्याक न्युटन (१६४३–१७२७)लाई भयो । सन् १६८७ मा न्युटनले “प्राकृतिक दर्शनको गणितीय सिद्धान्तहरू’’ प्रकाशित गरे । गुरुत्वाकर्षणसम्बन्धी नियमहरू भनेर जानिएको उक्त प्रकाशनले वैज्ञानिक अनुसन्धान र प्रविधि विकासमा फड्को मार्न महŒवपूर्ण आधारशिला तयार पा¥यो । सन् १८१२ मा स्टेफेन्सनले बनाएको वाष्प इन्जिनले चल्ने पहिलो रेलगाडी लोकोमोसन–वानदेखि यही कोभिड १९ को लकडाउनबीच गत मे महिनामा एलोन मस्कको कम्पनीले अन्तरीक्षमा प्रक्षेपण गरेको स्पेस–एक्सको फाल्कन–नाइन प्रविधि तिनै नियममा आधारित छन् । यो कुनै संयोग होइन कि न्युटनलाई प्लेगको समयमा घरको क्वारेन्टाइनमा रहँदा गुरुत्वाकर्षणसम्बन्धी नियमको विचार फु¥यो र मस्कले कोभिड–१९ को महाव्याधिकै बेला स्पेस एक्स उडाउन पुग्यो । यो केवल विज्ञान र वैज्ञानिकहरूको अविचलित यात्रा हो, जुन जस्तै लकडाउनमा पनि निरन्तर रहन्छ ।
त्यसो त गुरुत्वाकर्षणसम्बन्धी नियमबारे यता पूर्वीय दर्शनमा ब्रह्मगुप्त (ईपू ५९८–६६८)ले २६ सय वर्षअघि उल्लेख गरेको मानिन्छ । त्यस्तै, मध्यपूर्वमा ११औँ शताब्दीतिर पर्सियाका अबु अलि सिनाले पनि चालसम्बन्धी सिद्धान्त प्रतिपादन गरेका थिए । चिन्तन र तर्कबाट उक्त ज्ञानलाई अनुभवको विज्ञानमा अवतरण गरायो, युरोपको पुनर्जागरण (१४ देखि १७औँ शताब्दी) र बोधीयुग (१७१५–१७८९) ले । किनकि त्यस युगमा सर्वसाधारण जनताको व्यापक सहभागिता थियो । रबर्ट हुक (१६३५–१७०३) न्युटनभन्दा जेठामात्र हैन, दरबारले गनेका पहुँचवाला वैज्ञानिक पनि थिए । न्युटनले गुरुत्वाकर्षणसम्बन्धी ‘डिस्कोर्स’मा भाग लिन थालेपछि हुकले उनलाई जिस्काए । किसानका छोरा न्युटनले विनित भाषामा उनलाई पत्रमा भने, ‘यदि मैले केही परसम्म देख्न सकेछु भने त्यो ठूलाहरूको काँधमा चढेर हो ।’ आफ्ना अग्रजहरूलाई श्रेय दिने यो चलन एक वैज्ञानिक अनुशासन भएको छ ।
हाम्रा अग्रजहरूले नेपालमा विक्रम संवत् २०१३ असोज १ गते जनस्तरमा पहिलो विज्ञान कलेज खोले र नामकरण गरे “पब्लिक साइन्स कलेज’’, आजभोलिको भनाइमा “जनता विज्ञान कलेज’’ । सन् १९९९ मा हङ्गेरीको बुडापेस्टमा आयोजित विश्व विज्ञान महासम्मेलनका सहभागी १५५ राष्ट्रहरूले विश्व विज्ञान दिवस मनाउने निधो ग¥यो । युनेस्को आयोजक रहेको त्यस सम्मेलनको घोषणापत्रमा हस्ताक्षर गर्ने नेपाल पक्षराष्ट्र थियो । सन् २०१२ नोभेम्बर १२ मा काठमाडौँमा एउटा सानो जुलुसबाट नेपालले विज्ञान दिवस मनाउन थालनी ग¥यो । त्यही वर्ष जनस्तरमा स्थापित नेपालको प्रथम कलेजको स्थापना दिन पारेर असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय भयो । कोरोनाको यो अनिश्चित क्यालेन्डरमा यसरी हामी एउटा निश्चित दिन विज्ञानको महिमा गाउँदै छौँ । यसलाई निरन्तरता दिऊँ ।
(लेखक वैज्ञानिक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?