logo
२०८१ बैशाख ८ शनिवार



प्रयोगशालाको सही व्यवस्थापन

विचार/दृष्टिकोण |


प्रयोगशालाको सही व्यवस्थापन


केशव पौडेल

निजी होस् वा सरकारी– देशमा के काम गर्ने, कस्तो प्रकारको प्रयोगशाला छ, त्यहीअनुसार त्यो देश कुन स्तरको हो चित्रित गर्छ । अन्य देशमा धेरै प्रयोगशाला, धेरै प्राविधिक जनशक्ति र प्रयोगशालाका काम गुणस्तरीय र प्रभावकारी हुने गरेकाले ती देशहरू विकसित पनि छन् । जनताका हरेक सास, गाँस, बास र कपाससँग प्रयोगशाला प्रत्यक्ष जोडिएको हुन्छ ।
प्रयोगशालाको व्यवस्थापनका विभिन्न मानक छन् । अन्तर्राष्ट्रिय मानकअनुसार व्यवस्थापन गर्न परीक्षण, मापन तथा नमुना सङ्कलन गर्ने प्रयोगशालाहरू प्रभावकारी र गुणस्तरीय रूपमा सञ्चालनका लागि भूमिका खेल्ने तŒवहरूमा संरचनात्मक स्पष्टता, प्रयोगशालामा संशाधन आवश्यकताहरूको सही व्यवस्थापन, प्रयोगशालाका कार्यको निष्पक्षता र गोप्यता, सञ्चालन प्रक्रियाका आवश्यकताहरूको व्यवस्थापन र प्रयोगशाला व्यवस्थापन प्रणालीका आवश्यकताहरूको व्यवस्थापन पर्छन् ।
सम्पूर्ण काम वैज्ञानिक तरिकाउन्मुख भइरहेका छन् । कुनै पनि एकाइ अथवा भौतिक पदार्थ र तिनीहरूको गुण नाप, जाँच गर्न तौलन, कति मात्रामा रहेको छ भन्ने कुरा वैज्ञानिक र विश्वसनीय तरिकाबाट बताउन प्रयोगशालाको आवश्यकता रहन्छ । प्रयोगशाला के उद्देश्यमा स्थापना भएको हो, सोहीअनुसार वैज्ञानिक प्रयोग गर्न, प्राविधिक अनुसन्धान गर्न तथा नाप, जाँच गर्न प्रयोगशालामा फरक–फरक पूर्वाधारहरू हुने हुन््छन् । फरक–फरक सरकारी र विश्वविधालयस्तरका विभागअनुसार पनि प्रयोगशाला विभिन्न आकार प्रकारका हुन्छन् । तर, सबै प्रयोगशालाको गुणस्तरीय र प्रभावकारी व्यवस्थापन एकै विधिबाट गर्न सकिन्छ ।
प्रयोगशाला आफैँमा सबै कुरा होइन । यो त निर्णयका लागि प्रयोग गरिने औजार हो । प्रयोगशाला प्रभावकारी हुनु नहुनुमा कुनै खास एक कारण छैन, विभिन्न कुराहरूले असर पार्छ । सबैभन्दा पाहिला संरचनात्मक स्पष्टता आवश्यकता पर्छ । प्रयोगशाला प्रभावकारी नहुनु तथा तिनीहरूको सही प्रयोग नहुनुमा प्रथमतः त्यस विभाग वा कार्यालय नेतृत्व (व्यवस्थापन) जिम्मेवारी निर्वाहमा भर पर्छ । प्रयोगशाला विशुद्ध प्राविधिक भएको हुनाले तल र माथि सबैतिर अन्य क्षेत्रका जनशक्ति पनि सम्बन्धित हुने तर यो प्राविधिक कुरा हो भनेर बुझ्न नखोज्ने, कुरा नसुनिदिने र असहयोग गरिदिनाले पनि प्रभावकारी काम गर्न गाह्रो भएको छ । धेरै प्रयोगशाला प्रमुख र विभागीय प्रमुख फरक–फरक सेवा समूह हुनाले निश्चित रूपमा फरक ज्ञान हुने भएकाले पनि प्रयोगशालाहरू प्रभावकारी बनेका छैनन् । संरचनात्मक स्पष्टताको व्यवस्था र प्रभावकारी समन्वयको व्यवस्थाले प्रयोगशालाको काम गुणस्तरीय बनाउन सकिन्छ ।
प्रयोगशालामा निष्पक्षता र गोप्यता नभएको देखिन्छ । फलतः जनताले राम्रो सेवा पाइरहेका छैनन् । यी राष्ट्रिय ध्यानका विषय बनेका छन् । आवश्यक जनशक्तिको योग्यता पहिचान, सही उपकरणको छनोट र वातानुकूलित रूपमा उपकरणको सञ्चालन, नाप, जाँचमा प्रयोग गरिएका विधि र रसायनको इकाइहरूको अन्तर्राष्ट्रिय प्रणालीमा आबद्धता र बाह्य रूपमा प्रदान गरिएका उत्पादन र सेवाहरू सही व्यवस्थापन पर्छन् । प्र्रयोगशालाको आवश्यक प्रक्रियाको व्यवस्थापनमा अनुरोध, टेन्डर र सम्झौताको सही समीक्षा, नाप, जाँच गर्ने विधिहरूको चयन र प्रमाणीकरण, नमुना सङ्कलन र व्यवस्थापन, मापन अनिश्चितताको मूल्याङ्कन, परिणामहरूको वैधता सुनिश्चित गर्ने प्रक्रिया, परिणामको प्रतिवेश हुन नसकेका कामको व्यवस्थापन, तथ्याङ्क र सूचना व्यवस्थापनको नियन्त्रण पर्छन् ।
प्रयोगशाला राखेरमात्र हँुदैन, यसको कामलाई प्रभावकारी बनाउनुका साथै अन्तर्राष्ट्रिय मान्यताप्राप्त गर्न केही नियम पूरा गर्नुपर्छ । नेपालका विभिन्न संस्थाका प्रयोगशालामा विशेष ज्ञानभन्दा फरक ज्ञान भएकाहरूले प्रयोगशाला सञ्चालन गरेको, नियमानुसार कार्य नगरेको र कतिपय अवस्थामा प्रयोगशाला देखाउने दाँतमात्र बनाएको यथार्थ छ ।
प्रयोगशालामा चाहिने उपयुक्त उपकरण, गुणस्तरीय पूर्वाधार विकासमा कुनै ध्यान नदिँदा पनि प्रयोगशालाको कार्य अप्रभावकारी देखिन्छ ।
सरकारी प्रयोगशालामा जनशक्तिको अभावमा कार्यक्षमता घटेको छ । विश्वविद्यालयमा विद्यार्थी व्यावहारिकता अध्ययनविना नै पढ्नुपरेको छ । यदि समन्वय भएमा दुवैतिरको समस्या समाधान हुने थियो । आखिर त्यो सबै नेपालभित्रैको
स्रोत–साधन हो ।
सरकारी प्रयोगशालाको कार्य प्रभावकारी हुन नसक्नुमा अर्को कारण प्रयोगशाला निजामती सेवाभित्र राख्न खोज्नु पनि हो । १०–५ सम्ममात्र काम गरिन्छ । प्रयोगशालामा त त्यसबाहेकको समयमा पनि काम गर्नुपर्छ । अतः प्रयोगशालाको सञ्चालनमा छुट्टै ऐन चाहिएको छ ।
(लेखक खानी तथा भू–गर्भ विभागमा वरिष्ठ रसायनविद् हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?