logo
२०८१ बैशाख ८ शनिवार



मलङ्गवामा १३० जनाको पीसीआर गर्दा ८२ जनामा कोरोना

प्रदेश |


मलङ्गवामा १३० जनाको पीसीआर गर्दा ८२ जनामा कोरोना


जनार्जन खत्री 
सर्लाही, भदौ २७ गते । सर्लाही सदरमुकाम मलङ्गवामा १३० जनाको पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण पाइएको छ । मलङ्गवामा गत सोमवार २५१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये जनकपुरस्थित प्रादेशिक प्रयोगशालाबाट शनिवार साँझसम्म १३० जनाको पीसीआर परीक्षण रिपोर्ट प्राप्त हुँदा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको नगर स्वास्थ्य केन्द्र, मलङ्गवाका इन्चार्ज सञ्जय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश सङ्क्रमित सर्वसाधारण हुन् ।
थ्रोट स्वाब पठाएकोमध्ये अब १२१ जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । मलङ्गवामा शनिवार प्राप्त रिपोर्टले समुदाय स्तरमै व्यापक मात्रामा कोरोनाको सङ्क्रमण फैलिसकेको पुष्टी भएको स्वास्थ्य कार्यालय, सर्लाहीका कोभिड–१९, फोकल पर्सन सुशील कुमार झाले बताउनुभयो ।
पछिल्लो समय सरकारले सङ्क्रमितहरुलाई घरमै राख्न जोड दिएको र सङ्क्रमित स्वयंले पनि घरमा नै बस्न रुचाउने तर स्वास्थ्य मापदण्डको पालना नगरी जथाभावी हिँड्डुल गर्दा सङ्क्रमण फैलिने क्रम तीव्र भएको चिकित्सकहरुले बताएका छन् । शनिवार ८२ जना नयाँ सङ्क्रमित थपिँदा सर्लाही जिल्लाभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक हजार ९९४ पुगेको छ । तीमध्ये एक हजार ९० जना डिस्चार्ज भई घर फर्किएका छन् ।
यसैबीच ईश्वरपुर नगरपालिकामा शनिवार एक जना वडाध्यक्षसहित ३२ जना कोरोना सङ्क्रमितलाई डिस्चार्ज गरिएको छ । १५ देखि २८ दिनसम्म आइसोलेसनमा बसेका सङ्क्रमितहरुलाई आज स्वास्थ्य परीक्षण गर्दा कोरोनाको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको नगर प्रमुख मनोज कुमार देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेहरुमा वडा नं. १४ का वडाध्यक्ष रामपुकार महतो लगायत हुनुहुन्छ । कोरोना सङ्क्रमणबाट सर्लाहीमा अहिलेसम्म मलङ्गवामा दुई, लालबन्दी र चक्रघट्टामा एक÷एक जना गरी चार जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?