logo
२०८१ बैशाख ८ शनिवार

  कोरोनाको कहरले रोकेन सुदूरपश्मिका नाकामा आउजाउ  



साउन र भदौमा मात्रै २५ हजार भित्रिए, १० हजार नेपाली बाहिरिए

प्रदेश |


साउन र भदौमा मात्रै २५ हजार भित्रिए, १० हजार नेपाली बाहिरिए


चाँदनी आचार्य
लम्की (कैलाली), भदौ २५ गते । लामो समय भारतको बैङ्ग्लोरमा डिर्पाटमेन्ट स्टोरमा सेकुरेटी गार्डको काम गर्दै आउनुभएका घोडाघोडी नगरपालिका-१ का केशव भट्ट बैंग्लोरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि काम छोडेर सपरिवार नेपाल आउनुभयो । साउनको अन्तिमतिर नेपाल आउनुभएका उहाँलाई नेपालमा बसेको दुई महिना नहुँदै छट्पटी हुन थालेको छ ।
भट्ट भन्नुहुन्छ ‘अलि अलि कमाएको रकम छउन्जेल खाने अनि केही उपाय नलागेपछि फेरि भारततिरै जाने त होला ।’ भट्ट त एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ उहाँ जस्ता लाखौ नेपाली भारतमै दैनिक ज्याला मजदुरी गरेर घर खर्च चलाउँछन् ।
दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्नेहरुलाई कोरोना सङ्क्रमको डरले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता पर्न थालेको छ । घोडाघोडी नगरपालिका-१ घोडाघोडी गाउँका रमेश क्षेत्रीको परिवारका तीनै जना भारतबाट फर्केको तीन महिनापछि पुनः कामका लागि भारत जानुभयो । भदौ दोस्रो साता तीन छोराहरू भारतको हिमाञ्चल प्रदेशमा स्याउ बोक्ने काममा गएको आमा नन्दा क्षेत्रीले बताउनुभयो ।
रोगले भन्दा नि भोकले मर्ने डरले जोखिम मोल्दै छोराहरू कमाउन भारत गएको नन्दाले बताउनुभयो । मलिन हुँदै नन्दाले भन्नुभयो, ‘दैनिक ज्याला मजदुरी गर्नेलाई कोरोनाको डर मानेर घरभित्रै बसेर खान पुग्दैन । के गर्ने यता काम नै पाइदैन । भारतमा स्याउ बोक्ने काम पाइन्छ भनेपछि गाउँकै अरु दश जनासँगै छोराहरू पनि स्याउ बोक्ने काममा गएका छन् ।’
सुदूरपश्चिमको धार्चुला, झुलाघाट, गड्डा चौकी र गौरीफन्टा नाका भएर दैनिक नेपालीहरू भारतबाट नेपाल आइरहेका छन् भने पुनः भारततर्फ रोजगारीका लागि जाने गरेका छन् । कोरोनाको सङ्क्रमणको त्राससँगै रोजगारी गुमाएका नेपाली नेपाल आउने क्रमसँगै दैनिक कामको खोजीमा जानेको सङ्ख्या पनि उति नै छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो वर्षको साउन र भदौ महिनामा २५ हजार बढी नेपाली नेपाल भित्रिएका छन् भने करिब १० हजार नेपाली भारत गएका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले कोरोना सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा समेत सुदूरपश्चिमका विभिन्न नाकाबाट दैनिक नेपाल आउने र भारतका विभिन्न शहर जाने नेपालीलाई उद्धार गरी ल्याने र पठाउने काम गरिएको बताउनुभयो
विभिन्न नाका भएर भारतको दिल्ली, मुम्बई, पन्जाब, गुजरात, पुना, बैग्लोर र पिथौरागढ, हिमाञ्चल प्रदेश लगायतका ठाउँमा रोजगारीका लागि हजारौँ नेपाली जाने गरेका छन् ।
दार्चुलाको धार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डा चौकी र गौरीफन्टा नाकामध्ये सबैभन्दा बढी गौरीफन्टा नाकाबाट आउने र जानेको सङ्ख्या बढी रहेको पाइएको छ ।
गौरीफन्टा नाकाबाट भारत जाने र नेपाल आउनेको सङ्ख्या बराबर
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले लकडाउन र निषेधाज्ञा जारी भए पनि भारतबाट नेपाली आउने क्रम नरोकिएको बताउनुभयो । निषेधाज्ञा जारी भएयता गौरीफन्टा नाका हुँदै चार हजार ७०० नेपाली भित्रिएका छन् भने उक्त नाकाबाट चार हजार ३५० बाहिरिएका छन् । नेपालीहरू नेपाल आउने र जानेको सङ्ख्या बराबरी जस्तै देखिन थालेको छ । लकडाउन हुनेबित्तिकै नेपाल आएका नेपालीहरू कोरोनाका कारण लामो समय र अवस्था उस्तै रहेपछि र आम्दानी नभइ दैनिक गुजारा गर्न मुस्किल भएपछि जोखिम मोल्दै पुनः भारत जान थालेका हुन् । जबकी भारत आफैँ सङ्क्रमणको कहालीलाग्दो अवस्थामा छ ।
पछिल्लो समय नेपाल आउनेको सङ्ख्या दैनिक एक सय देखि तीन सय सम्म हुने गरेता पनि भदौ २२ गते भने एक हजार बढी नेपाली उक्त नाकाबाट भित्रिएका छन् । नेपाल भित्रिएका नेपालीहरूको विवरण लिई सम्बन्धित पालिकामा सूची पठाउने र नेपाल भित्रिएका नेपालीलाई गाडीको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउन सहयोग गरेको सूचना अधिकारी जोशीले बताउनुभयोे ।
सुदूरपश्चिमका विभिन्न नाका भएर भित्रिने अन्य जिल्लाका मानिसलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सूची पठाउनेसमेत गरिएको छ । यसरी नाकामा आएका नेपालीको विवरण सम्बन्धित जिल्ला तथा पालिकामा पठाउँदा उनीहरूलाई क्वारेन्टाइन तथा परीक्षण व्यवस्थापनमा सहज हुने गरेको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?