logo
२०८१ बैशाख १३ बिहीवार

  कालिकोट पहिरो अपडेट  



एकै घरका चारको मृत्यु, पाँच जना अझै पुरिएको आशङ्का

प्रदेश |


एकै घरका चारको मृत्यु, पाँच जना अझै पुरिएको आशङ्का


प्रेमराज सिम्खडा
कालीकोट, भदौ १४ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पाँच वटा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । नाग्म बजारमा सँगै जोडिएका पाँच वटा स-साना घरमाथिबाट आएको पहिरोले पुरेपछि शुभकालिका गाउँपालिका वडा नं ७ का वर्ष ४० का परेक शाही .सहित उहाँका दुई छोरा र एक छोरीको मृत्यु भएको हो ।

श्रीमती पुन्ने शाहीलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । किराना पसल गर्दै आएका शाही सहित उहाँका वर्ष पाँचका छोरा निराजन शाही, सात वर्षकी छोरी हिमा शाही र दुइ महिनाका छोरा अकल शाहीको शव एक्स्काभेटरले पहिरो पन्छाएर निकालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले सञ्चार सेवा नभएकाले पहिरोमा परेकाहरूको उद्धारमा कठिनाइ भएको बताउनुभयो ।

उहाँले कुनै पनि फोन सेवा नभएकाले समयमा घटनास्थलमा प्रहरी जान नसकेको बताउनुभयो । मान्छेमार्फत जिल्ला प्रहरी कार्यालय जुम्लामा खबर भएपछि बल्ल आफूले जानकारी पाएर जिल्लाबाट प्रहरी निरीक्षक यक्षराज जोसीको नेतृत्वमा टोली खटाएर उद्धार गरिएको बताउनुभयो । जुम्ला र कालीकोटको प्रहरी घटना भएको तीन घण्टापछि घटना स्थलमा पुगेर पहिरोबाट शव निकालेको थियो ।

शिक्षक खगेन्द्र शाहीले सात जना पुरुष, तीन जना बालबालिका र दुई जना महिला गरी १२ जना पुरिएको हुन सक्ने बताउनुभयो । मासु पसल सञ्चालन गर्दै आएका श्रीमान श्रीमती पनि त्यहीँ रहेको र सबै गरी १२ जना हुन सक्ने हिसाब स्थानीयले निकालेका छन् । स्थानीयले निकालेको तथ्याङ्कअनुसार तीन बालबालिकाको शव भेटिसकेको छ । एक महिला र एक पुरुषलाई घाइते अवस्थामा उद्धार गरिएको छ । एक पुरुषको शव निकालिएको छ । अब भने एक महिलासहित पाँच जना पुरुष पहिरोभित्रै हुनसक्ने आङ्शका गरिएको छ । घटनास्थल जुम्ला जिल्लाको सिमानामा पर्छ ।

स्थानीय र नाग्ममा रहेको प्रहरीले सुरुमा अर्जुन हमाल र पुन्ने शाहीलाई जीवितै उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान  जुम्लामा पठाएको थियो । कर्णाली राजमार्गको भित्ता माथिबाट आएको पहिरोले घर पुरेको हो । पहिरोले घर पुरिँदा कर्णाली राजमार्गसमेत अवरोध भएको छ । गएराति परेको पानीले आइतबार बिहान ८ बजे पहिरो झरेर वडा नं १ का लली नेपाली, मन्दीर कटुवाल, धनपति विक र वीर भेरीकारका घर भत्किएका हुन् ।

नेकपाका नेता महेन्द्रबहादुर शाहीले वर्षौँदेखि कुनै पनि सञ्चार सेवा नभएका कारणले तिलागुफा नगरपालिकाभित्रका नागरिकले दुःख पाउँदै आएको बताउनुभयो । जुविथाको एक ठाउँमा मात्र मोबाईल सेवाका लागि टावर रहेको सो टावर पटकपटक बिग्रने भएकाले सञ्चार सेवाबाट तिलागुफा नगरपालिकाभित्रका नागरिक बन्चित हुँदै आएका छन् । सञ्चार सेवा नभएकै कारणले आजको घटनाका बारेमा समयमा खबर नहुँदा नागरिकले ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?