logo
२०८१ बैशाख ८ शनिवार



पर्सामा कोरोना सङ्क्रमणबाट तीनको मृत्यु, मृतक सङ्ख्या ४८

प्रदेश |


पर्सामा कोरोना सङ्क्रमणबाट  तीनको  मृत्यु, मृतक सङ्ख्या ४८


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १३ गते । पर्साको वीरगञ्ज महानगरपालिकाका थप तीन जना कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा दुई जना, थप उपचारको लागि काठमाडाैँ लैजाने क्रममा एक जना गरी थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

उपचाररत कोरोना सङ्क्रमितमध्ये शुक्रबार राति दुई जना र शनिबार बिहान एक जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. अतुलेश चौरसीयाले पुष्टि गर्नुभयो ।
मृतक तीन जनामा एक जना ६५ वर्षीय महिला र ४३ तथा ४० वर्षीय दुई जना पुरुष रहेका छन् भने मृतक तीनै जना पर्साको वीरगञ्ज महानगरपालिकाका स्थानीय बासिन्दा हुन् ।
मृतकमध्ये ६५ वर्षीय महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि शुक्रबार अपराह्न उपचारको नारायणी अस्पतालमा ल्याइएको थियो भने उपचारको क्रममा बेलुकी साढे ५ बजे ती महिलाको मृत्यु भएको थियो । मृत्युपश्चात आएको कोरोना परीक्षणको रिपाेर्टमा ती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो ।

त्यस्तै शुक्रबार राति ११ बजेर ५५ मिनेटमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का ४३ वर्षीय युवकको कोरोना सङ्क्रमणको कारण वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । मृतक युवक हेपाटाइटिस बी र एचआइभी एड्स सङ्क्रमित रहेकाले स्वास्थ्य अवस्थामा समस्या भएपछि तीन दिन पहिले अस्पतालमा भर्ना गरिएको थियो । नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबार साँझ वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा ल्याइएको थियो ।

त्यस्तै शनिबार महानगरपालिका वडा नं. २२ मनियारीका ४० वर्षीय युवकको शनिबार बिहान ४ बजे मृत्यु भएको हो । वीरगञ्जको गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाडाैँ रिफर गरिएको थियो ।  ती सङ्क्रमितलाई एम्बुलेन्समा राखेर थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे मृत्यु भएको डा. चौरसियाले जानकारी दिनुभयो ।
पछिल्लो थप तीन जनाको मृत्यु भएसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । साउन यतामा मात्रै कोरोना सङ्क्रमणको कारण ४४ जनाको मृत्यु भएको हो । वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४८ जनामध्ये एक बेवारिसे युवकसहित पर्साका ३६ जना, बाराका १० जना र रौतहटका २ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?