logo
२०८१ बैशाख १३ बिहीवार

  कोरोना सङ्क्रमितबारे फेरिदै जनधारणा  



भेट्न घरमै जाने, निसङ्क्रमण गर्नेदेखि शव उठाउन जुटे स्थानीय

प्रदेश |


भेट्न घरमै जाने, निसङ्क्रमण गर्नेदेखि शव उठाउन जुटे स्थानीय


नवराज कट्टेल
विराटनगर, भदौ १२ गते । कोरोना सङ्क्रमणको त्रास बढ्दै गएपछि अस्तव्यस्त दैनिक जीवन सहज बनाउन साहसहरू बटुलिन थालेका छन् । सङ्क्रमित र सङ्क्रमितको घरपरिवारमा सामाजिक हेला बढेपछि घरमै पुगेर डिस्इन्फेक्सन (निसङ्क्रमण) र स्यानिटाइजिङ (निर्मलीकरण) गर्नेदेखि शव व्यवस्थापन गर्नेसम्मको अभियान विराटनगरमा सुरु भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी विराटनगर महानगर कमिटीले गत हप्तादेखि सङ्क्रमित नागरिकको घर डिस्इन्फेक्सन गर्ने अयिभान सुरु गरेको हो । अहिलेसम्म नगरका ५० भन्दा धेरै सङ्क्रमितको घरमा नेकपा महानगर समितिको टोली पुगेर स्यानिटाइज र डिस्इन्फेक्सन गरिसकेको नगर कमिटी अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।
महानगरको अभियानमा हालसम्म सबैभन्दा धेरै विराटनगर–८ का २४ घरमा डिस्इन्फेक्सन गरिएको छ । अध्यक्ष थापाका अनुसार वडा नम्बर ३ बाट गत हप्ता सुरु गरिएको अभियानका लागि प्रत्येक वडामा दुईजना युवालाई स्यानिटाइज गर्नका लागि आवश्यक तालिम र ज्ञान दिइएको छ । उनीहरू सङ्क्रमितको घरमा प्रवेश गर्नका लागि आवश्यक पर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री पार्टीले उपलब्ध गराउँछ, अध्यक्ष थापाले भन्नुभयो, 'स्यानिटाइज गर्ने घरमा पार्टीको महानगर पदाधिकारी पुगेर स्वास्थ्य लाभको कामना गर्ने र हौसला बढाएर फर्कन्छौँ ।' 
महानगरका सङ्क्रमित परिवारको घरमा स्यानिटाइज गर्ने अभियानलाई अहिले अन्य दल तथा सामाजिक सङ्घ र संस्थाका अगुवाले समेत अगाडि बढाइरहेका छन् । सार्वजानिक स्थान र अति भीडभाड हुने स्थानमा समेत युवाको सक्रियातामा डिस्इन्फेक्सन गर्ने काम महानगरभरि चलिरहेको हो ।
विराटनगर महानगरपालिका वडा नं.३ ले कोरोना सङ्क्रमित वा सङ्क्रमित घरपरिवारका सदस्यको मृत्यु भएको अवस्थामा सामाजिक संस्कारसहितको अन्त्येष्टिका लागि समिति नै गठन गरेको छ ।
घरका सदस्य सङ्क्रमित भएको अवस्थामा अन्य कुनै सदस्यको मृत्यु भए अन्त्येष्टिमा सहभागी हुने मलामी नपाउने भएपछि वडा अध्यक्षकै नेतृत्वमा चार सदस्यीय शव दाहसंस्कार समिति गठन गरिएको हो ।
वडा कार्यालयले गठन गरेको समितिले होम आइसोलेसनमा रहेका सङ्क्रमितको निधन भएपनि शव व्यवस्थापन गर्नेछ । घरपरिवारको मागबमोजिम सामाजिक संस्कारअनुसार अन्त्येष्टि गराउने योजनासहित शव व्यवस्थापन समिति बनाएर वडा कार्यालयले सार्वजानिक सूचना जारी गरेको छ ।
वडा सचिव जोगेन्द्र विश्वासका अनुसार होम आइसोलेसनमा बसेका सङ्क्रमित वा उनका अन्य सदस्यको निधन भएपछि शव व्यवस्थापनमा सामाजिक रुपमा समस्या देखिँदैआएको छ । यसअगाडि विराटनगर–३ की एक वृद्धाको शव उठाउने व्यक्ति नहुँदा नेपाली सेनाले अन्त्येष्टि गर्नुपरेको थियो ।
घरका अन्य सदस्य सङ्क्रमित भएपछि कोरोना नेगेटिभ देखिए पनि वृद्धाको लास उठाएर सद्गद् गनै मान्छे नभएपछि नेपाली सेनाको टोलीले अन्त्येष्टि गरेको थियो । वडाले आफैँ पहल लिने योजना अगाडि सारेको छ, वडा सचिव विश्वासले भन्नुभयो, 'अध्यक्षकै नेतृत्वमा बनेको टोलीका सदस्यहरूले शवलाई सिलप्याक (एयर टाइट) गर्ने विधि सिक्नेछन्, अनि अन्त्येष्टि गरिने छ ।' 
गत बुधबार विराटनगर–११ की ४४ वर्षीया महिलाको समेत घरपरिवारकै उपस्थितिमा सिंघिया घाटमा अन्त्येष्टि गरिएको थियो । सङ्क्रमणपछि मृत्यु भएको अवस्थामा नेपाली सेनाले शव व्यवस्थापन गर्दैआएको थियो । तर, उच्च अदालत विराटनगरले शव व्यवस्थापन संस्कारअनुसार परिवारलाई समेत सहभागी गराउन आदेश गरेपछि गत बुधबार सङ्क्रमितको शव सिंघिया खोलामा जलाएर अन्त्येष्टि गरिएको थियो ।
'सङ्क्रमितको घरमै मृत्यु भए वा सङ्क्रमित भएका घरमा अन्य सदस्यको मृत्यु भए लास उठाउन छिमेकीसमेत आउँदैनन्', सचिव भन्नुभयो, 'लामो समयसम्म लास घरमै रहँदा त्यसको जोखिम झन् बढी हुनेछ ।' नागरिकसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार र पार्टीलाई नै दबाब पर्ने भएपछि कोरोना त्रासलाई परास्त गर्ने साहस बटुल्नुबाहेक विकल्प नभएको नेकपा महानगर समिति सचिव हेम कार्कीले बताउनुभयो ।
विराटनगर महानगरपालिकामा मात्रै हालसम्म नाै जनाको मृत्यु भइसकेको छ । महानगर क्षेत्रमा ९२९ जना सङ्क्रमितमध्ये २८१ जना निको भएर घर फर्किसकेका छन् । हालसम्मका सङ्क्रमितमध्ये ४७८ जना होम आइसोलेसनमा रहेका छन् । यसअघि विराटनगर–६ का एक पुरुषको होम आइसोलेसनमै बसेको अवस्थामा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?