logo
२०८१ बैशाख ११ मंगलवार



बागमती प्रदेशका ५७ सय प्रहरी ‘फेस सिल्ड’ सहित ड्युटीमा

प्रदेश |


बागमती प्रदेशका ५७ सय प्रहरी ‘फेस सिल्ड’ सहित ड्युटीमा


शिवकुमार काशी

हेटौँडा, भदौ १ गते । कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो कार्यक्षेत्रका पाँच हजार सात सय जना प्रहरीलाई फेस सिल्ड (अनुहार छाप्ने पारदर्शी प्लाष्टिक) को व्यवस्था गरेको छ ।

बागमती प्रहरी प्रदेश कार्यालय मातहतका १० जिल्ला (काठमाडौँ उपत्यकाबाहेक) मा रहेका तालिम केन्द्र, दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन र ट्राफिकतर्फ सबैलाई पुग्ने गरी फेस सिल्डको व्यवस्थापन गरिएको हो । बागमती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाको सक्रियतामा प्रदेशभर एकरुपता झल्किने गरी भदौ १ गतेबाट फेस सिल्डको व्यवस्थापन गरिएको हो । “नागरिकबाट प्रहरीसम्म र प्रहरीबाट पनि नागरिकसम्म कोरोना सङ्क्रमण नफैलियोस् भनेर फेस सिल्डको व्यवस्था गरेका छौँ”, प्रमुख लामाले भन्नुभयो ।

लामाका अनुसार ड्युटीमा खटिने प्रहरीहरू सधैँ पीपीई लगाएर बस्न नसक्ने अवस्था आएको र मास्कले मात्रै पनि सङ्क्रमण रोक्न नसकिएको अवस्थामा फेस सिल्डको व्यवस्था गरिएको हो । कतिपय जोखिमयुक्त स्थानहरूमा पुग्न, चेकजाँच गर्न र भीडभाडको नियन्त्रण गर्ने क्रममा सङ्क्रमण बढ्ने डर हुने भएकाले फेस सिल्डको व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।

फेस सिल्डको प्रयोगले आफ्नै हात पनि आँखा, नाक, मुखलगायत संवेदनशील अङ्गहरूमा पुग्नबाट रोक्न सकिने भएकाले पनि प्रभावकारी हुने आशा बागमती प्रदेश प्रहरी कार्यालयले गरेको छ । ‘पछिल्ला समय प्रहरी नै सङ्क्रमित हुने गरेकाले प्रहरीबाट आम नागरिकसम्म कोरोना नसरोस् र नागरिकबाट पनि सीधै प्रहरीसम्म भाइरस नफैलियोस् भन्नाका लागि फेस सिल्ड प्रयोगमा ल्याइएको हो”, प्रदेश प्रहरी प्रमुख लामाले भन्नुभयो ।
बागमती प्रदेश कार्यालय मातहतमा काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक बागमती प्रदेशका १० वटा जिल्ला प्रहरी कार्यालयसहित ३३३ वटा प्रहरी युनिट रहेका छन् । कार्यालयसँग एक महानगरपालिका, एक उपमहानगरपालिका, २५ नगरपालिका र ७१ गाउँपालिकाका गरी ३० लाख १२ हजार पाँच सय जनसङ्ख्यालाई शान्ति सुरक्षा व्यवस्था मिलाउनुपर्ने दायित्व छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?