logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाका कारण सिल गरिएका बाँकेका सरकारी कार्यालयहरू खुले

प्रदेश |


कोरोनाका कारण सिल गरिएका बाँकेका सरकारी कार्यालयहरू खुले


सिराज खान

नेपालगञ्ज, साउन ३२ गते । कर्मचारीमा कोरोना भारइरसको सङ्क्रमण देखिएपछि सिल गरिएका बाँकेका तीनवटा प्रमुख सरकारी कार्यालयहरू आइतबारबाट पुनः सुचारु गरिएका छन् ।
सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने नेपालगञ्जमा रहेका आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालय आइतबारबाट सर्वसाधारणका लागि पुनः खोलिएका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले चारजना अधिकृतलगाययत अन्य कर्मचारी र उनका आफन्त गरेर १३ जनामा सङ्क्रमण पुष्टि भएपछि गत तीन सातादेखि सिल रहेको राजस्व कार्यालय आइतबारबाट सुचारु गरिएको बताउनुभयो ।

उहाँले राजस्व कार्यालयका सबै कर्मचारी र उनका आफन्त निको भएर डिस्चार्ज भएपछि कार्यालय भवन तथा कर्मचारी निवास दुवैलाई तीन तीन पटक स्यानिटाइज गरेर कार्यालय सञ्चालनमा ल्याइएको बताउनुभयो ।

प्रमुख पौडेलले सामाजिक दूरीका साथै मास्कको प्रयोग गर्नेलाई मात्र कार्यालयमा प्रवेश गर्न दिइएको जनाउनुभयो । यस्तै जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई सातादेखि सिल गरिएको नेपालगञ्ज उप–महानगरपालिका कार्यालय पनि आइतबारदेखि सञ्चालनमा ल्याइएकोे छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उप–महानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा सुचारु गरिएको बताउनुभयो ।

उहाँले उपमहानगरका सम्पूर्ण २३ वटै वडा कार्यालयहरू पनि आइतबारदेखि नै सुचारु गरिएको बताउनुभयो । नेपालगञ्ज उप–महानगरपालिकामामा कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।

सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुनपानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने व्यवस्थासमेत मिलाइएको उप–महानगरपालिकाले जनाएको छ ।

सोही प्रकारले कम्प्युटर अपरेटरलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द रहेको नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय पनि आइतबारबाट नै सञ्चालनमा आएको सो कार्यालयले जनाएको छ ।
कर्मचारीमा सङ्क्रमण देखिएको बाँके जिल्ला अदालत पहिले नै सञ्चालनमा आइसकेको छ भने ४२ जना प्रहरीलाई सङ्क्रमण देखिएपछि बन्द रहेको वडा प्रहरी कार्यालय नेपालगञ्ज भने अझै बन्द नै रहेको छ । सो कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?