logo
२०८१ बैशाख १२ बुधवार



लागु औषधसहित पक्राउ, सुन ठगी गर्ने समातिए

प्रदेश |


लागु औषधसहित पक्राउ, सुन ठगी गर्ने समातिए
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३० गते । नेपालका धेरै जिल्लाहरू यति बेला सिल छन् । प्रहरी कोभिड–१९ नियन्त्रण गर्न केन्द्रित छ । यही मौका छोपेर सक्रिय रहेका लागु औषधको कारोवारीहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु नगरपालिका–१० विर्तास्थित सडकबाट ८ ग्राम २३० मिलिग्राम लागुऔषध जस्तो देखिने खैरो पदार्थसहित सोही ठाउँ बस्ने २७ वर्षीय विजय पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले लु.९ प २३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको नेपाल प्रहरीको वेबसाइटमा उल्लेख छ ।

त्यस्तै, सर्लाही, लालबन्दी नगरपालिका–१ स्थित लखनदेही खोलानजिकबाट १५ केजी अवैध लागुऔषध गाँजा बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको बा.३४ प ६१८९ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपछि प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारेको हो । मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ ।

चार लाख ३६ हजार रुपियाँ बराबरको सुन ठगी गरेको अभियोगमा पक्राउ
करिब चार लाख ३६ हजार रुपियाँ मूल्य बराबरको सुन ठगी गरेको अभियोगमा झापा शान्तिनगर घर भई काठमाडौँ महानगरपालिका-३१ नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई काठमाडौँ ज्ञानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।

मगरले उक्त रुपियाँ बराबरको डेढ तोलाको एक थान सुनको सिक्री, ५४ लालको एक थान सुनको लकेट, एक तोला ५२ लालको एक थान सुनको ब्रासलेट, एक थान हिराको औँठी र ३५ लालको एक थान सुनको औँठी विभिन्न बहाना बनाई झुक्याई ठगी गरेको मुद्दाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मगरलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?