logo
२०८० चैत्र १६ शुक्रवार



भानु नगरपालिका एक साता बन्द

प्रदेश |


भानु नगरपालिका एक साता बन्द


दमौली, साउन २७ गते । तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा एक साताका लागि बन्द गरेको हो ।

नगरवासीलाई कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन नगरपालिका र सम्पूर्ण वडा

कार्यालय आजदेखि आगामी भदौ २ गतेसम्मका लागि बन्द गरिएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

“कार्यालयमा सेवाग्राहीको भीड बढेकाले जोखिम भएको तथा जिल्लाका अन्य स्थानमा पनि सङ्क्रमितहरु भेटिएको हुँदा नगरपालिकाको कार्यालय र यसअन्तगर्तका सम्पूर्ण वडा कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाभित्र रहेका सार्वजनिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, वित्तीय

संस्थाको कार्यालय पनि बन्द हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी नगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवाहरु बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

यस अवधिमा स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा तथा कार्य र कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण कार्य तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु भने सञ्चालन हुनेछ । स्वास्थ्यसम्बन्धी यी सेवाहरु प्राप्त गर्न पनि व्यक्तिगत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने नगरपालिकाले जनाएको छ ।

सोमबार कोरोना पुष्टि भएका ती व्यक्तिलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र भर्ना गरिएको छ । ती व्यक्तिको सम्पर्कमा आएका सबैको कन्ट्याक ट्रेसिङका आधारमा र परिवारका अन्य सदस्यहरुको पनि स्वाब परीक्षणका लागि पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी बन्दीपुर गाउँपालिकाले वडा नं ५ का एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त ठाउँको आँधीखोलादेखि गोहोरे चौतारा थुम्का र मस्र्याङ्दी नदीसम्मको क्षेत्रमा अत्यावश्यक कार्यबाहेक अन्य कुनै पनि काम नगर्न÷नगराउन अनुरोध गरेको छ । कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ सहज गर्नका लागि सोमबारदेखि बिहीबारसम्म उक्त ठाउँहरुमा काम गर्न बन्द गरिएको गाउँपालिकाका प्रवक्ता धु्रवप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएकाले समुदायमा थप सङ्क्रमण फैलिने जोखिम उच्च रहेकाले सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

छुट्टै कोठा र शौचालय प्रयोग गर्नेलाई घरमै

छुट्टै कोठा र शौचालय प्रयोग गर्न सक्ने नागरिकलाई विदेशबाट फर्किएर होम क्वारेन्टिनमै बस्न दिइने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले घरमा छुट्टै कोठा र शौचालय भई अलग्गै बस्न सक्ने व्यक्तिलाई होम क्वारेन्टिनमा बस्न दिने निर्णय गरेको हो ।

त्यस्ता व्यक्तिलाई जनप्रतिनिधि, समाजका अगुवा र सुरक्षा निगरानीमा होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइने सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

विद्यालयमा रहेका क्वारेन्टिन हटाउने सरकारले निर्णय गरेको र अन्तर्राष्ट्रिय उडानसमेत खुल्ने परिस्थितिलाई दृष्टिगत गरी क्वारेन्टिन सम्भव भए हालकै क्षमतामा नै सञ्चालन ल्याउने नभए प्रत्येक स्थानीय तहले कम्तीमा ५० श्ययाको क्वारेन्टिन निर्माण गर्ने निर्णय बैठकले गरेको छ । “सो पनि गर्न सम्भव नभएमा नजीकका स्थानीय तह वा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी क्वारेन्टिन विकास गर्दै जाने निर्णय भएको छ”, प्रजिअ आचार्यले भन्नुभयो ।

कोभिड–१९ को जोखिम बढिरहेको सन्दर्भमा जिल्लाभित्र आउने र जिल्लाबाहिर गई पुनः फर्किआउने मानिसबाट कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढी हुने हुँदा स्थानीय तहबाट सवारी पास सिफारिस गर्दा जिल्ला बाहिर जाने र आउने व्यक्तिको निगरानीलाई प्रभावकारी र अति आवश्यक र जरुरी भएका मानिसहरुलाई मात्र सवारी पास सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

कोभिड–१९ को जोखिम बढिरहेको र अन्य जिल्लाको सङ्क्रमण समेतलाई दृष्टिगत गरी तनहुँ जिल्लामा पनि थप आइसोलेसन कक्ष र भेन्टिलेटर आवश्यक पर्ने सम्भावनातर्फ समयमै सजगता अपनाउने निर्णय भएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङलगायत उपस्थित हुनुहुन्थ्यो ।

मिर्गौला पीडितलाई सहयोग

यही साउन २१ गते करेन्ट लागेर छोरा गुमाएका तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गाैला पीडित रामलाल श्रेष्ठलाई सहयोग जुट्ने क्रम शुरु भएको छ । विगत १८ महिनादेखि मिर्गौला फेल भएर उपचाररत उहाँको उपचारमा सहयोग पु¥याउने उद्देश्यसहित अष्ट्रेलिया, पोर्चुगल र अमेरिकाबाट सहयोग प्राप्त भएको हो ।

मिर्गौला पीडित श्रेष्ठलाई तनहुँ समाज अष्ट्रेलियाबाट रु ५० हजार, दमौली घर भई पोर्चुगल बस्ने युवाहरुबाट ३० हजार र अमेरिकाको न्युयोर्क बस्नुहुने डा अविन ओझा र सिटल बस्नुहुने अरुण ओझाबाट १२ हजार सहयोग प्राप्त भएको छ । अष्ट्रेलिया र पोर्चुगलबाट प्राप्त भएको रकम केही दिनअगाडि पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको छ भने अमेरिकाबाट ओझा दाजुभाइले पठाउनुभएको रकम आज राष्ट्रिय समाचार समिति (रासस) दमौली प्रतिनिधि कृष्ण न्यौपानेले श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

आफ्नै दुवै मिर्गौलाा फेल भएर पीडामा रहेको अवस्थामा छोरा गुमाउनुभएका श्रेष्ठलाई उपचारमा सहयोग पुगोस् र अन्यलाई पनि सहयोग गर्ने प्रेरणा जगाउन आफूहरुले सहयोग गरेको डा अविन ओझाले बताउनुभयो । उहाँका भाइ अरुण ओझाले मिर्गौला पीडित श्रेष्ठको परिवारका बारेमा सामाजिक सञ्जालबाट थाहा पाएपछि केही सहयोग गर्ने इच्छा भएकाले थोरै रकम भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

जन्मदिनमा पत्रकारद्वारा सहयोग

यसैबीच सोही क्रममा राष्ट्रिय समाचार समिति (रासस) का दमौली प्रतिनिधि कृष्ण न्यौपानेले आफ्नो जन्मदिनका अवसरमा रु पाँच हजार रकम मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । रकम सानो भएपनि सबैले थोरै थोरै सहयोग गरे श्रेष्ठको उपचारका लागि ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो ।

मिर्गौला पीडित रामलालका वल्र्ड लिङ्कमा रोजगारी गर्ने छोरा सुवासको साउन २१ गते करेन्ट लागेर मृत्यु भएको थियो । “एक त आफैँ मिर्गौला पीडित, अर्कोतर्फ छोराको करेन्ट लागेर मृत्यु भएपछि श्रेष्ठ परिवारमा पीडामाथि पीडा थपिएको छ”, म्याग्दे दमौली सम्पर्क समाजका सदस्य विवी श्रेष्ठले भन्नुभयो, “उहाँको उपचारका लागि रकम सङ्कलन अभियान शुरु गरेका छौँ ।”

साबिक जामुने गाविसको गुणादी दभुङ्ग घर भई हाल व्यास नगरपालिका–४ मा बस्दै आउनुभएका रामलाल लामो समयसम्म शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । मिर्गौलाले काम गर्न छाडेपछि उहाँले शिक्षण पेशा छाड्नुभयो । केही समय पोखरामा डायलासिस गराउनुभएका श्रेष्ठले हाल दमौली अस्पतालमा हप्ताको दुई दिन डायलासिस गराइरहनुभएको छ ।

रकम सङ्कलनका लागि समाज

मिर्गौला पीडित श्रेष्ठको उपचारमा सहयोग पु¥याउन म्याग्दे दमौली सम्पर्क समाज गठन गरिएको छ । साविक जामुने, मनपाङ र छाङ स्थायी घर भएका स्थानीयवासीको भेलाले भाग्यशाली ढुङ्गानाको संयोजकत्वमा म्याग्दे दमौली सम्पर्क समाज गठन गरेको हो ।

समाजको उपसंयोजकमा मणिराज थापा, सचिवमा पदमकुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज अधिकारी, सदस्यहरुमा हरिशरण वाग्ले, बलराम वाग्ले र राजकुमार श्रेष्ठ विवी चयन हुनुभएको छ । समाजले म्याग्दे घर भई अन्यत्र बसोबास गर्ने समेतलाई परेको दुःखमा सहजीकरणको भूमिका खेल्ने समाजका संयोजक ढुङ्गानाले बताउनुभयो ।

दुई फरार प्रतिवादी कारागार

लागुऔषध मुद्दामा फरार व्यक्ति चार वर्षपछि पक्राउ परेका छन् । तनहुँ प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा व्यास नगरपालिका–५ चापाघाटका ३० वर्षीय रामबहादुर थापा र सोही ठाउँका २३ वर्षीय गोविन्द थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । उनीहरुउपर तनहुँ जिल्ला अदालतले विसं २०७३ मङ्सिर ५ गते पाँच महिना २७ दिन कैदको फैसला गरेको थियो ।

पक्राउ परेकाहरुलाई सोमबार जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम उनीहरुलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।

फोक्सोको क्यान्सर पीडितलाई सहयोग

फोक्सोको क्यान्सरबाट पीडित लमजुङको जिता निवासी ३० वर्षीया रुपा श्रेष्ठलाई दक्षिण कोरियाबाट सहयोग जुटेको छ । दक्षिण कोरियामा कार्यरत रमेश बस्नेत, किरण थापा र अन्य साथीहरुको पहलमा श्रेष्ठको उपचारका लागि रु एक लाख ४० हजार ७० सहयोग जुटेको हो ।

उक्त रकममा रु १० हजार ५०० थप गरी एक लाख ५० हजार ५७० व्यास नगरपालिका–२ निवासी पदम बानियाँले पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । विगत लामो समयदेखि मिर्गौलामा ट्युमर भई शल्यक्रिया गराउनुभएकी श्रेष्ठको हाल फोक्सोमा क्यान्सर भएको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न पीडित श्रेष्ठले सबैलाई आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?