logo
२०८० चैत्र १५ बिहीवार



जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, दर्जनौँ अझै बेपत्ता

अन्तर्राष्ट्रिय |


जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, दर्जनौँ अझै बेपत्ता


टोकियो, असार २३ गते । जापानको दक्षिणी नगरहरूमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति अझै बेपत्ता  छन् । सेना सहितका उद्धारकर्ताहरूले मङ्गलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तीव्र बनाएका छन् ।
जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भीषण वर्षाका कारण बाढीले व्यापक जनधनको क्षति गरेको अधिकारीहरूले बताएका छन् । मौसम पूर्वानुमान विभागका अनुसार क्युसुलाई केन्द्रविन्दु बनाएर अझै ठूलो वर्षा हुने देखिएको छ । जापानको पश्चिमी आधाजसो भागलाई प्रभावित तुल्याएको वर्षा पूर्वी क्षेत्रतर्फ अघि बढेको देखिएको छ ।
फुकुओकामा जापानी सेनाले मानिसलाई निकै जोखिमका साथ घरघरबाट उद्धार गरिरहेका दृश्यहरू स्थानीय टेलिभिजनले प्रसारण गरिरहेका छन् । फुकुओकामा एक अधवैंसे महिला आफ्ना परिवारजनको उद्धारका लागि गए पनि बाढीको पानी उनको घाँटीसम्म पुगेको थियो ।
विपद् व्यवस्थापन विभागले कुमामोतोको नदी किनारा क्षेत्रबाट मात्र ४९ जनाको शव निकालिएको जनाएको छ । अर्की एक वृद्धा भने घरभित्रै मृत अवस्थामा भेटिएकी थिइन् । जापानको तेस्रो ठूलो द्वीपको रुपमा रहेको क्युसुबाट करिब ३० लाख मानिसलाई अन्यत्र सुरक्षित स्थलमा जान सरकारले आदेश दिएको छ ।
हाल उद्धार कार्यमा दशौँ हजार सेना, प्रहरी र अरु उद्धार कार्यकर्ता अहोरात्र खटिएका छन् । खासगरी कुमा नदीको आसपासमा बाढी र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । उद्धारकार्यमा निरन्तरको वर्षासँगैको बाढीले अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप