logo
२०८० चैत्र १६ शुक्रवार

  मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारबाही  



पार्टी प्यालेस, मल र रेष्टुरेन्टमा सादा पोशाकका प्रहरी

पढ्नै पर्ने |


पार्टी प्यालेस,  मल र रेष्टुरेन्टमा सादा पोशाकका प्रहरी


केशवराज पौडेल
काठमाडौँ, असार २३ गते । गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेलाई ठाउँको ठाउँ कारबाही गर्न परिपत्र जारी गरेसँगै  काठमाडौँका प्रमुख जिल्ला अधिकारी अनुगमनमा निस्कनुभएको छ । तीन महिनादेखि सरकारले मास्क लगाउन, सामाजिक दूरी कायम गराउन, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन बिहानको ५.०० बजेदेखि रातको १२ बजेसम्म सूचना, विज्ञापनबाट मात्रै नभइ मोबाइलमा रिङब्याक ट्यून राख्दासमेत परिपालन नभएपछि ठाउँको ठाँउको कारबाही गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अनुगमनमा निस्कनुभएको हो ।

सरकारले कारबाही गर्ने भन्दाभन्दै उल्लङ्घन गर्ने धेरै  भएकाले कारबाहीको प्रकृया सुरु गरेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । उहाँले भन्नुुभयो, ‘हामीले बारम्बार अनुरोध गर्दा पनि धेरैले नमानेपछि बाध्य भएर कारबाही सुरु गरेका छौँ, पहिलो चरणमा एक सय रुपियाँ जरिवाना गर्छाैँ, त्यो भएन भने सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्छाैँ ।’

सङ्क्रामक रोग ऐन २०२० ऐनले पहिलोपटक एक सय रुपियाँसम्म जरिवाना र एक महिनासम्म कैद र दोस्रो पटकसम्म सोही व्यक्तिले सरकारले निर्देशन पालना नगरे छ महिनासम्म कैद छ सय रुपियाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रमुुख जिल्ला अधिकारी दाहालले भन्नुुभयो ।

काठमाडौँ उपत्यकामा आवातजावत गर्ने १५ देखि २० प्रतिशतले मास्कको प्रयोग नगरेको पाइएको र गृहमन्त्रालयबाट समेत परिपत्र भएसँगै कारबाहीको प्रकृया अघि बढाइएको उहाँले बताउनुभयो । ‘अनुहार हेरिन्न, मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारबाही गरिन्छ’ प्रमुख जिल्ला अधिकारीले भन्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले समेत काठमाडौँमा कोरोनाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेकोमा अब प्रशासनले मुख हेरेर बस्न नसक्ने प्रजिअ दाहालले बताउनुुभयो ।

उहाँले पार्टीप्यालेस, ठूला मल र रेष्टुरेन्टहरूमा निगरानी बढाउन सादा पोशाकमा प्रहरीसमेत परिचालन गरेको बताउनुभयो । जोखिम अत्यधिक बढेकाले केही खुकुलो जस्तो देखिएको लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।  उहाँले मास्कको प्रयोग गर्न सामाजिक दूरी कायम गराउन सबैलाई अनुरोध गर्नुभएको छ । सरकारले अनुरोध गरेको कुरालाई र कार्यान्वयन गराउनेभन्दा उल्लङ्घन गर्ने पक्षको सङ्ख्या धेरै देखिएकाले अब आक्रामक रुपमा कारबाही गरिने उहाँले बताउनुभयो । मङ्गलबार दिनभर आफू पनि अन द स्पट कारबाहीको लागि ठाउँठाउँमा जाने उहाँले बताउनुभयो ।

गृहमन्त्रालयको परिपत्रलगत्तै जिल्ला प्रशासन कार्यालय, ललितपुरले सुरक्षा संयन्त्रको बैठक बसेर कारबाहीको प्रकृया सुरु गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुरक्षा निकायसँग समन्वय गरेर कारबाही प्रकृया अघि बढाएको बताउनुुभयो ।

मास्कको प्रयोग नगर्ने र सामाजिक दूरी कायम नगर्नेहरूलाई कारबाही गर्नेछौँ उहाँले भन्नुुभयो । विश्व स्वास्थ्य सङ्गठनले समेत राजधानी निक्कै जोखिम भएकाले जोखिम कम गर्ने प्रयास सुरु गरेको र अटेर गरेमा कारबाही गर्ने बताउनुभयो । सपिङ मल र सार्वजनिक स्थानहरूमा ललिलपुरमा समेत सादा पोसाकका प्रहरी खटाइएको उहाँले बताउनुुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मङ्गलबार बिहानैदेखि मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गराउन माइकिङ गरेको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज दिनभरि माइकिङ गर्ने र भोलिबाट कारबाही तथा अनुगमन गर्ने बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?