logo
२०८१ बैशाख १२ बुधवार



लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षित गरायो

अर्थ |


लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षित गरायो


लम्की, असार २१ गते । कैलालीका स्थानीय युवा लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि कर्मतर्फ आर्कषित बनेका छन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लामो लकडाउन गरेसँगै क्याम्पस अनिश्चितकालीन बन्द भएपछि उच्च शिक्षा अध्ययन गरिरहेका यहाँका केही युवाहरू कृषि व्यवसायमा आकर्षित भएर व्यवसाय सुरु गरेका हुन् ।

घोडाघोडी नगरपालिका-५ का विनोद चौधरी स्नातक तह तेस्रो jर्षका विद्यार्थी हुनुहुन्छ । कोरोनाको सङ्क्रमणले लकडाउन शुरु भएसँगै उहाँ अध्ययनरत् क्याम्पस पनि बन्द भयो । दैनिक क्याम्पस अध्ययनका लागि जाने विनोदलाई क्याम्पस बन्द भएसँगै लकडाउनको अवधि बढ्दैगएपछि अब केही गर्नुपर्छ भन्ने लाग्यो । उसो त उहाँलाई उच्च शिक्षा अध्ययनपश्चात नेपालमै कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने मनमा थियो तर लकडाउनले उहाँलाई त्यो अवसर प्रदान गर्याे ।

लकडाउनले सबैतिर प्रभाव पारिरहेको अवस्थामा कृषि नै उत्तम विकल्प रहेको विनोदले लोकल कुखुरा पालन शुरु गर्नुभएको छ भने बायोफलक्स प्रविधिबाट माछापालन गर्ने तयारीमा जुट्नुभएको छ ।
कुखुरालाई दाना दिँदैगर्नुभएका विनोदले भन्नुभयो, ‘युवाहरू सबै विदेश पलायन हुने विदेशमा पनि यही कृषि कार्य गरेर आफ्नो पसिना विदेशमा बगाउनुपरेको छ तर मेरो सोच नेपालमै कृषि व्यवसाय गरेर यतै केही गर्नुपर्छ भन्ने लागेको छ ।’

वैशाख महिनाबाट कुखुरा पालन शुरु गर्नुभएका विनोदको खोरमा अहिले दुईसय लोकल कुखुरा बिक्री हुने अवस्थामा पुग्न थालेका छन् । थोरै लगानीबाट व्यवसाय शुरु गरेका उहाँँले शुरुमै मुनाफा नभएपनि त्यसलाई बढाउँदै पछिसम्म ठूलो रुपमा व्यवसाय बढाउने बताउनुभयो । बायो फलक्सका लागि सबै पूर्वाधार बनिसकेको बताउँदै विनोदले अनुभवीबाट सुझाव लिँदै यो व्यवसायतर्फ लागेको बताउनुभयो । उहाँले भन्नुभयो ‘करिब पाँच लाख लगानीमा व्यवसाय शुरु गरेको छु । शुरुमा मुनाफाको आशा गरेको छैन तर पछि मुनाफा दिनेगरी बढाउँदै लैजान्छु ।’

विनोदजस्तै अर्का युवा शङ्कर डगौरासमेत अहिले कृषि व्यवसाय सञ्चालनको तयारीमा जुट्नुभएको छ । घोडाघोडी बहुमुखी क्याम्पस स्नातक तह प्रथम वर्षमा अध्ययनरत डगौराले लकडाउनसँगै क्याम्पस बिदा भएपछि खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ टेर्रा मल्टी एग्रो फर्म दर्ता गरी दश कट्ठा जमिनमा कुखुरा पालनका लागि संरचना तयार गर्दैहुनुहुन्छ । लकडाउनले सबै क्षेत्र प्रभावित भएको अवस्थामा कृषि नै विकासको आधार हुनसक्छ भन्ने कुरा बुझेका डगौराले भन्नुभयो ‘कलेज पनि बन्द छ खाली बसेर के गर्ने श्? अब कृषि पेसामै व्यवसायी बन्ने सोच बनाएको छु ।’

कुखुरा पालनका लागि खोर बनाउनेलगायत पूर्वाधार विकासको काम भइरहेको डगौराले बताउनुभयो । त्यसैगरी गौरीगङ्गा नगरपालिका-३ का नेत्र दियाकोटीले पनि कलेज बन्द भएसँगै बाख्रापालन व्यवसाय शुरु गर्नुभएकोछ । बाख्रापालन व्यवसायमा लागेपछि लकडाउनको समय सदुपयोग भएको उहाँले बताउनुभयो । खाली बसेर कसरी समय बिताउने भन्ने तनाव बाख्रापालन व्यवसायले हटाएको छ ।
उच्चशिक्षा अध्ययन गरिरहेका लकडाउनको समय कलेज बन्द भई घरमै बसेका यी तीन जना युवाहरूको कार्यले अन्य युवाहरूलाई समेत प्रेरणा दिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?