logo
२०८० चैत्र १६ शुक्रवार



म्यान्मारमा खानीकाे पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १६२ पुग्यो

अन्तर्राष्ट्रिय |


म्यान्मारमा खानीकाे पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १६२ पुग्यो
तस्विर-फाइल


याङ्गुन
असार १९ गते । म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १६२ पुगेको छ । म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका व्यक्तिहरू पुरिएका थिए । स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भीषण पहिरो आएको थियो ।

पहिरो आएको समयमा सो खानीमा ठूलो सङ्ख्याका कामदारहरूले काम गरिरहेका थिए । कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरूलाई पुरेको आशङ्का गरिएको छ । सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धारको कार्य जारी नै रहेको बताएको छ । उद्धारकर्मीहरूले सो स्थलमा अरु पनि व्यक्तिहरू पुरिएको हुनसक्ने जनाएका छन् । घाइते भएका ५४ जनालाई अस्पताल लगिएको छ । पहिरोमा परेर हराइरहेका व्यक्तिको सङ्ख्या खुलाइएको छैन ।

केही दिनयतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ । वर्षापछि आएको पहिरोमा सो गाउँका बासिन्दा पनि परेको अनुमान गरिएको छ । त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
जेडको प्रमुख स्रोत मानिने म्यानमारमा बहुमूल्य रत्न ’जेड’ खोज्न गएका बेला बर्सेनि दर्जनौँको मृत्यु हुने गरेको छ । अधिकारीहरूले सन् २०१६ को नोभेम्बरमा पनि उक्त क्षेत्रमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन् । म्यान्मारका खानीमा गत वर्ष भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?