logo
२०८१ बैशाख ७ शुक्रवार



भारतमा एकजना डिएसपीसहित आठ प्रहरीको हत्या

अन्तर्राष्ट्रिय |


भारतमा एकजना डिएसपीसहित आठ प्रहरीको हत्या


कानपुर
असार १९ गते । भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरूले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ ।
सो घटना शुक्रबार बिहान सबेरै भएको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ । विकास दुवे नाम गरेका ती व्यक्तिको घरमा उनीसहित अरु पनि केही अपराधी रहेको भन्ने आशङ्कामा प्रहरीले शुक्रबार बिहान उनको घर घेरा हालेको थियो ।
तर सोही क्रममा सो घरभित्र रहेको आशङ्का गरिएका ती व्यक्तिले नै गोली चलाएका थिए । गोली लागेर प्रहरीका एक डिएसपी देवेन्द्र मिश्रसहित आठ जना प्रहरीको घटनास्थलमै ज्यान गएको बताइएको छ ।
शुक्रबारै बिहान सो क्षेत्रमा उत्तर प्रदेश प्रहरीका प्रमुखसहितको ठूलो सङ्ख्याको प्रहरी घटनास्थलमा पुगेको बताइएको छ ।
उनीहरूले घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको बताएका छन् । त्यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाउने प्रहरी अधिकारीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँले उक्त घटनाको गहिरो अनुसन्धान गरेर दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न उत्तर प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?