logo
२०८० चैत्र १६ शुक्रवार

  कोरोनाको इपिसेन्टर बन्दै दैलेख  



भारतबाट ठूलो सङ्ख्यामा आए, क्वारेन्टाइनले धानेन, रिपोर्ट ढिलो

प्रदेश |


भारतबाट ठूलो सङ्ख्यामा आए, क्वारेन्टाइनले धानेन, रिपोर्ट ढिलो


कमल शर्मा
दैलेख, जेठ २५ गते । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रुपमा बढ्दै जान थालेपछि दैलेखका दुई स्थानीय तह कोरोनाको इपिसेन्टर बन्ने खतरा बढ्दै गएको छ । जिल्लाका ११ स्थानीय तहमा ३५५ कोरोना सङ्क्रमित हुँदा दैलेखको नारायण नगरपालिकामा १९५ र महाबु गाउँपालिकामा १०८ जना सङ्क्रमित फेला परेका छन । यहाँ शनिबारसम्म ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सख्या हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये ६० प्रतिशत हो । कर्णाली प्रदेशमा सङ्क्रमित सख्या ५८७ पुगेको छ ।

जेठ १० मा नारायण नगरपालिकाका २५८ जना भारतबाट घर आए । महाराष्ट्र र गुजरातबाट फर्किएका उनीहरूलाई जाँचैबिनै १४ दिनसम्म सदरमुकामस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरूमध्ये ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भए पनि दुई दिनसम्म छुट्याएर अन्य स्थानमा राख्न नसक्दा धेरैमा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले सङ्क्रमण देखिएका व्यक्तिलाई ठाउँ अभावका कारण समयमै दुई दिनसम्म एकै स्थानमा राख्नुपरेका कारण पनि जिल्लामा सङ्क्रमणको दर बढ्दै गएको बताउनुभयाे । उहाँले भन्नुभयाे, 'हामीले क्वारेन्टाइन निर्माण कम भएका कारण भारतबाट फर्कनेलाइ एकै स्थानमा राख्दाकाे परिणाम अहिले भोगिरहेका छौँ ।' 

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरिबहादुर वलीले जिल्लाका ११ स्थानीय तहमा २३३ स्थानमा बनाइएका क्वारेन्टाइनमा अहिले १२ हजार ८ सय ८४ जना बसिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, 'नारायण नगरपालिकामा एक हजार ४३७, दुल्लुमा एक हजार ३७ र महाबुमा एक हजार ४३७ शय्याका क्वारेन्टाइन बनाइएका छन् । त्यति बनाउँदा पनि अट्ने अवस्था छैन । प्रहरीलाई समेत सुरक्षा दिन समस्या भएको छ ।' 

भारतबाट घर फर्किनेहरू बढ्दै गएपछि सङ्क्रमण देखिएका तीन वटै स्थानीय तहका सबै क्वारेन्टाइन भरिएका छन् । यसअघि आरडीटी गरिएका ३०८ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । भारतबाट फर्किएका धेरैको स्वाब परीक्षण नभएकाले सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य सेवा कार्यालयका डाक्टर निरञ्जन पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'सङ्क्रमितको सङ्ख्या बढ्न थाले पनि उपचार कहाँ राखेर गर्ने भन्ने समस्या छ । अब स्वास्थ्य स्वास्थ्य मन्त्रालयलले जारी गरेको पछिल्लो निर्देशिका अनुसार जान्छौँ । सङ्क्रमण भए पनि उच्च समस्यामा परेकालाई आइसोलेसन र अन्यलाई क्वारेन्टाइनमा राखेर उपचार गर्नुको विकल्प छैन ।'

सङ्क्रमित बढ्दै गएपछि महाबु गाउँपालिकासहित नारायण र दुल्लु नगरपालिकाले क्वारेन्टाइनलाई नै आइसोलेसन बनाउन थालेका छन् । मापदण्ड अनुसार जिल्ला अस्पतालमा ४० शय्याको आइसोलेसन बनाइएको छ । अस्पताल प्रमुख डा. निरञ्जन पन्तले ४० बेडको आइसोलेसनमा ३५ जना सङ्क्रमितको उपचार भइरहेको बताउनुभयो । उहाँँका अनुसार अस्पतालमा पाँच शय्याको आइसीयू बनाइएको छ भने २ वटा भेन्टिलेटर छन् ।

सङ्क्रमित बढेपछि उपचार र व्यवस्थापनमा समस्या भएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले क्वारेन्टाइनमा रोखेका नागरिकको समयमै परीक्षण गरेर रिपाेर्ट दिन सकेको भए आज यो अवस्था आउने थिएन । रिपोर्ट ढिलो आउनु नै सबैभन्दा ठूलो समस्या भएको छ ।'

महाबु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले भन्नुभयाे, 'स्थानीय तहले जति व्यवस्थित गरौँ भन्दा पनि नसकिने रहेछ । रिपाेर्ट ढिला आउन थाले । जनता आफैँ घर हिड्न थालेपछि चुनौती बढ्दै गएको छ । यो बेला सङ्घ र प्रदेश सरकारले चिकित्सक पठाएर तत्काल उनीहरूको स्वास्थ्य जाँच गर्नुपर्थो । सङ्घ र प्रदेश सरकार के हरेर बसेको छ ?'

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्वास्थ्य मन्त्रालयले पटक पटक पठाउने निर्देशनले समेत समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयाे, 'आरडिटी गरेर घर पठाउ भन्छ । घर पठाएको दुई हप्तापछि कोरोना सङ्क्रमण भएको पुष्टिको खबर आउँछ । उनीहरूलाई गाउँमा गएर खोज्नुपर्छ ।' यो दर्दनाक अवस्थाबाट आफुहरू गुज्रिरहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?