logo
२०८१ बैशाख ६ बिहीवार



दार्चुलाका एक हजार ५२८ जना क्वारेन्टाइनमा

प्रदेश |


दार्चुलाका एक हजार ५२८ जना क्वारेन्टाइनमा


लोकेन्द्रप्रसाद जोशी
दार्चुला, जेठ २२ गते । दार्चुलाका नौ वटै स्थानीय तहमा गरी एक हजार ५२८ जना क्वारेन्टाइनमा रहेका छन् । भारतका विभिन्न सहरका साथै जिल्लाबाहिरबाट आउनेहरूको सङ्ख्या ह्वात्तै बढेपछि सबै स्थानीय तहका क्वारेन्टाइन भरिएका छन् ।

नौगाड गाउँपालिकामा २७४ जना, अपि हिमाल गाउँपालिकामा २११ जना, शैल्य शिखर नगरपालिकामा २०९ जना, मालिकार्जुन गाउँपालिकामा २०६ जना, लेकम गाउँपालिकामा २०५ जना क्वारेन्टाइनमा रहेका छन् । महाकाली नगरपालिकामा १४२ जना, मार्मा गाउँपालिकामा १५८ जना, व्यास गाउँपालिकामा ९४ जना र दुहुँ गाउँपालिकामा ३९ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाका सूचना अधिकारी खगेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्लाबाहिर रहेका विद्यार्थी, मजदुर र कर्मचारी बाहिरबाट आउने क्रम जारी रहेकाले सबैजसो स्थानीय तहका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या दिनदिनै थपिँदैगएको छ । जिल्ला अस्पताल, दार्चुलामा सात वटा आइसोलेसन बेडबाट बढाएर १३ पुर्याइएको छ । गोकुलेश्वर अस्पतालमा चार वटा आइसोलेसन बेड निर्माण गरिएको छ । क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या बढ्दै गएपछि जिल्लाभरि १७ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जिल्ला अस्पताल, दार्चुलाका डा. गजेन्द्र दुवालले बताउनुभयो ।

दार्चुलाभरि क्वारेन्टाइनमा बसेकाहरूकाे कोरोना परीक्षणका लागि बुधबार २१ सय आरडीटी किट दार्चुला ल्याइपुर्याइएकाे स्वास्थ्य कार्यालय, दार्चुलाले जनाएको छ । विभिन्न चरणमा गरी हालसम्म सुदूरपश्चिम प्रदेश सरकारले तीन हजार ६५० आरडीटी किट दार्चुला पठाएको छ । क्वारेन्टाइनमा बसेकाहरूले समयमै स्वास्थ्य परीक्षण नभएको र विभिन्न समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?