logo
२०८१ बैशाख १३ बिहीवार



स्थानीयको अगुवाइमा १४ वर्षपछि सशस्त्रलाई ब्यारेक

प्रदेश |


स्थानीयको अगुवाइमा १४ वर्षपछि सशस्त्रलाई ब्यारेक


नवराज कट्टेल

विराटनगर, जेठ २० गते । सशस्त्र प्रहरीलाई स्थायी ब्यारेकमा राख्ने सपना देखेका मोरङ बाहुनीका स्थानीयको १४ वर्षपछि इच्छा पूरा भएको छ । स्थानीयकै अगुवाइमा दुई करोड ६० लाख रुपियाँ लागतमा ब्यारेक निर्माण सम्पन्न भएपछि उनीहरूको सपना पूरा भएको हो ।
बेलबारी नगरपालिका–७ बाहुनीमा २०६३ सालको चैतमा सशस्त्रको बेस क्याम्प स्थापना भएको थियो । त्यसको ६ वर्षपछि २०६९ फागुनमा स्थानीयकै पहलमा क्याम्पको स्थायी संरचना निर्माणका लागि पुराण आयोजना गरियो । पुराणबाट सङ्कलित एक करोड १६ लाख रुपियाँ रकमले ११ कठ्ठा १२ धुर जमिन खरिद गरेका स्थानीयले आठ वर्षपछि क्याम्प निर्माणका लागि रकम जुटाएर निर्माण सम्पन्न गरेका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
स्थानीयको अगुवाइमा निर्माण गरिएको सशस्त्रको क्याम्पको सोमबार मेयर सुवेदी र सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । सशस्त्रका ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक नेत्रबहादुर कार्कीका अनुसार स्थानीय तारावीर कटुवालको संयोजकत्वमा पुराण लगाएर खरिद गरिएको जमिनमा एक करोड ४४ लाख रुपियाँको लागतमा भवन निर्माणको काम सम्पन्न भएको हो ।
बेस क्याम्प परिसरमा ब्यारेक, बेसपति निवास, प्रवेशद्वार, पुल, ब्याडमिन्टन कोर्ट, गोलघर, पाहुनाघर रहेको उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
पुराण लगाएर जमिन खरिद गरेका स्थानीयले भवन निर्माणका लागि व्यापारी तथा जनप्रतिनिधिहरूसँग समेत रकम सङ्कलन गरेका थिए । स्थानीयले घरलौरी गरेर २१ लाख सङ्कलन गरेको रकममा व्यापारीद्वय कमल गोयल र जय तामाङले २८ लाख, बुद्ध एयर प्रा.लिले १० लाख, पूर्व राज्यमन्त्री दिलीप गच्छदारको कोषबाट २० लाख, बेलबारी नगरपालिकाले ३६ लाख, प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासको कोषबाट १० लाख र स्थानीय धनराज र बालकुमारी गजमेरबाट दुई लाख ५० हजार रुपियाँ सहयोग रकम जुटाएर ब्यारेक निर्माण गरिएको उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?