logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना ‘हटस्पट’ नरैनापुरको अवस्था नियन्त्रणमा, डर र त्रास घट्यो

प्रदेश |


कोरोना ‘हटस्पट’ नरैनापुरको अवस्था नियन्त्रणमा, डर र त्रास घट्यो
नरैनापुरका क्वारेन्टाइनको निरीक्षण गर्दै स्वास्थ्य कार्यालयको टोली । तस्विरः सिराज खान


सिराज खान
नेपालगञ्ज, जेठ २० गते । भारतबाट फर्किएकामध्येबाट एक्कासि ठूलो सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेपछि कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकाको अवस्था अहिले नियन्त्रणमा आएको छ ।
भारतको मुम्बईबाट फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिए पनि अव्यवस्थित क्वारेन्टाइनका कारण त्यहाँ भित्रबाटै धेरैलाई सङ्क्रमण फैलिएको थियो । त्यहाँ एकै पटक धेरै जना सङ्क्रमित भेटिएपछि व्यवस्थापनको कमजोरीका कारण समुदायमा सङ्क्रमण फैलिने ठूलो सम्भावना देखिएको थियो ।
पछिल्लो समय चालिएका सकारात्मक कदमहरूका कारण ठुलो सङ्ख्यामा सङ्क्रमण थप फैलिन नपाएको र क्वारेन्टाइनको व्यवस्थापनमा पनि सुधार हुँदै गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार त्यहाँका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ९७८ जना रहेकोमा कोरोना परीक्षण गरेर ७०९ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको र अहिले पाँच वटा क्वारेन्टाइनमा १५३ जना मात्र रहेका छन् ।
उनीहरूमध्ये पनि धेरै जना मङ्गलबार बेलुकासम्म घर फर्किने उहाँले बताउनुभयो ।
सङ्क्रमित भएका तीन जना निको भएर घर फर्किसकेपछि अहिले नरैनापुरको अवस्था सामान्य बनेको र कोरोनाको त्रास पनि बिस्तारै घट्दै गएको आफूले स्थलगत अनुगमनको क्रममा पाएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
सरकारले यस क्षेत्रका लागि अब जमुनाहा नाकाबाट मात्रै भारतबाट आउनेहरूलाई भित्र्याउन पाइने निर्णय गरेपछि नरैनापुरको सिमानाबाट भित्रिने खतरा पनि समाप्त भएकोले सो क्षेत्र सुरक्षित बन्दै गएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको अवस्था नियन्त्रणबाहिर गएपछि हरेस खाएर हात उठाएका गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि नरैनापुर जोगिएको जनाउँदै अब सबै कुरा नियन्त्रणमा आएको बताउनुभयो ।
उहाँले क्वारेन्टाइनमा रहेका अधिकांश नगेटिभ पाइएपछि घर फर्किएको र आइसोलसेनमा रहेकाहरूसमेत निको भएर घर फर्किन थालेकोले स्थानीय बासिन्दाको पनि मनोबल उच्च भएको बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरलगायत जिल्लाका सबै स्थानमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा सुधार ल्याउने कार्य शुरु गरिएपछि अवस्था नियन्त्रणमा आउँदै गएको बताउनुभएको छ ।
उहाँले भारतबाट फर्किनेहरूलाई सीमानामा छिर्नेबित्तिकै व्यवस्थित तरिकाले सिधै क्यारेन्टाइनमा पुरयाउने व्यवस्था मिलाइरहेको जनाउँदै त्यति मात्रै पनि राम्ररी गर्न सकियो भने कोरोना नियन्त्रण गर्न कुनै समस्या नहुने बताउनुभयो ।
क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परिक्षण गर्ने व्यवस्था समेत मिलाउने प्रयास भइरहेको उहाँको भनाइ छ । बाँकेमा कोरोना सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या मङ्गलबारसम्म २१३ पुगेको छ । मङ्गलबार जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ७ मा १४ जना, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ मा २ जना र खजुरा-१ मा एक जना गरी १७ जना सङ्क्रमित थपिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?