logo
२०८१ बैशाख ८ शनिवार

  प्रदेश १ सीमा नाका अपडेट  



तीन मुख्य नाकाबाट १९ दिनमा पाँच हजार जना नेपाल प्रवेश

प्रदेश |


तीन मुख्य नाकाबाट १९ दिनमा पाँच हजार जना नेपाल प्रवेश


नवराज कट्टेल
विराटनगर, जेठ २० गते । भारतबाट नेपाल फर्कन चाहने नेपाली नागरिक सीमा क्षेत्रमा सुरक्षा निकायको सम्पर्कमा आउन थालेका छन् । सरकारले घर फर्कन चाहने नेपाली नागरिकलाई मुख्य नाका तोकेसँगै फर्कनेहरू सीमा क्षेत्रका सुरक्षा निकायसँगको सम्पर्कमा पुग्ने गरेका हुन् ।

'धेरै सहज भएको छ', सशस्त्र प्रहरी ३ नम्बर गण हेडक्वार्टर, मोरङका उपरीक्षक नेत्रबहादुर कार्कीले भन्नुभयो,  'मुख्य नाका खुल्ला भएपछि सहायक नाकाको दबाव घट्दैगएको छ ।' उहाँले खुला सिमानाका भएर प्रवेश गर्नका लागि जोडबल गर्नेहरूको सङ्ख्या मुख्य नाकातर्फ केन्द्रित हुन थालेको बताउनुभयो ।

भारतबाट नेपाल फर्कन चाहने नेपाली नागरिकहरू नेपाली भूमि प्रवेश गरेसँगै सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको सम्पर्कमा आफैँ जान थालेपछि जोखिम कम हुने अपेक्षा गरिएको छ । सरकारले गत जेठ १३ गतेदेखि मुख्य नाकाबाटै प्रवेश गराउने निर्णय गरेकै दिन रानी नाकाबाट ३०४ जना र सहायक नाकाबाट समेत १३८ जना नागरिक प्रवेश गरेका थिए । उपरीक्षक कार्कीका अनुसार त्यसपछि सहायक नाकाबाट फाट्टफुट्टबाहेक सबै मुख्य नाका केन्द्रित भएका हुन् ।

'सहजै सुरक्षा निकायसँगको सम्पर्कमा आउने त्यसपछि स्थानीय तहका जनप्रतिनिधि र परिवारका सदस्यहरूलाई फोन गर्ने गर्दछन्', उपरीक्षक कार्कीले भन्नुभयो, 'कतिपयलाई लिन सीमामै स्थानीय तहका जनप्रतिनिधिहरू आइसक्नुभएको हुन्छ ।'

चालु महिनाको जेठ १ गतेदेखि १९ गतेसम्मको १९ दिनमा एक हजार ८८९ जना नेपाल प्रवेश गरेका छन् । प्रवेश गर्नेहरू जिल्लाका मात्रै भने हैनन् । देशभरका नागरिक मुख्य नाका हुँदै प्रवेश गरेपछि उनीहरूको व्यवस्थापन गरिँदैआएको छ । इलामको पशुपतिनगर, झापाको काकडभिट्टा र मोरङको विराटनगरबाट पछिल्लो १९ दिनको अवधिमा पाँच हजार ६७६ जना प्रवेश गरिसकेको तथ्याङ्कले देखाउँछ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार पछिल्लो एक साताको अवधिमा एक हजार १०० नागरिक मुख्य नाका हुँदै प्रवेश गरेका छन् । सरकारको निर्णयपछि मुख्य नाका हुँदै प्रवेश गरेकामध्ये मोरङबाहेक जिल्लाका धेरै सङ्ख्याका नागरिकलाई सम्बन्धित जिल्ला हुँदै पालिकासम्म पठाइसकिएको छ । त्यसबाहेक क्यारेन्टाइनमा एक हजार भन्दा बढीको सङ्ख्यामा राखेर उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको छ ।

'क्वारेन्टाइनमा रहेकाहरू सबै भारतबाट नेपाल प्रवेश गर्नेहरू नै हुनुहुन्छ', प्रमुख जिल्ला अधिकारी भुजेलले भन्नुभयो, 'मुख्य नाका हुँदै प्रवेश गराउने प्रक्रियाले सहायक नाकाबाट झुक्याएर प्रवेश गर्नेहरूको तनाव कम हुँदै व्यवस्थापनका लागि एकिकृत प्रणाली लागु गर्न सहज भएको हो ।' 
प्रदेशको प्रमुख नाका विराटनगर जस्तै झापाको काकडभिट्टा हुँदै पछिल्लो १५ दिनयता तीन हजार ५७३ नागरिक नेपाल प्रवेश गरिसकेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार प्रवेश गर्नेहरूमध्ये एक हजार ३३३ झापाका नागरिक हुन् । जिल्लावासी नागरिकलाई क्यारेन्टाइनमा राखेर उनीहरूको परीक्षण भइरहेको छ । परीक्षण गरिएकामध्ये ६०० जनाकाे कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट आउन बाँकी नै रहेको छ । बाहिरी जिल्लाका दुईहजार २५० जना नागरिकलाई सम्बन्धित जिल्ला हुँदै पालिकासम्म पठाउने गरिँदै आएको छ ।
'धेरैलाई हामीले सम्बन्धित जिल्ला र पालिकाको जिम्मेवारीमा पठाएका छौँ, केही नागरिक जसको सम्पर्क प्रक्रिया चलिरहेको छ, उहाँहरूलाई सुरक्षित रुपमा राखेका छौँ', झापाका प्रमुख जिल्ला अधिकारी राना मगरले भन्नुभयो, 'प्रमुख नाकाबाट प्रवेश गराउँदा एकLकृत व्यवस्थापनमा सहज हुँदै गएको छ ।'

प्रदेश १ को इलामस्थित पशुपतिनगर हुँदै हालसम्म २१४ जना नागरिक प्रवेश गरिसकेका छन् । प्रवेश गर्नेहरूमध्ये दुई जना मात्रै इलाम जिल्लावासी रहेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइँले जानकारी दिनुभयो । पशुपतिनगरबाट प्रवेश गर्नेमध्ये दोलखाका १७२ जनासहित तेह्रथुमका १९, झापाका ८, काठमाण्डौँका तीन, मोरङका सात, रामेछाप र पाँचथरका एक/एक जना र धादिङ २ जना रहेका छन् ।
नेपाल आउने मात्रै नभई मोरङबाट पछिल्लो १९ दिनमा ९७३ जना भारतीय नागरिकसमेत भारत फर्केका छन् । भारत फर्कनेहरूलाई विराटनगरस्थित आईसीपीको बाटोबाट पठाउने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?