logo
२०८१ बैशाख १३ बिहीवार

  झापामा एउटै गाउँपालिकामा एक सय सङ्क्रमित  



क्वारेन्टाइनका २५ प्रतिशतमा सङ्क्रमण, गाउँमा फैलिएको छैन

प्रदेश |


क्वारेन्टाइनका २५ प्रतिशतमा सङ्क्रमण, गाउँमा फैलिएको छैन


विष्णुप्रसाद पोखरेल
दमक, असार १६ गते । झापाको कचनकवल गाउँपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ । यो प्रदेशमा नै एउटै स्थानीय तहमा सबैभन्दा बढी कोरोना देखिएको गाँउपालिका हो । कोरोना पोजेटिभ देखिएका सबै भारतबाट फर्केका र क्वारेन्टाइनमा रहेकाहरू हुन् ।

कचनकवल पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टाइन भएका छन् । यहाँ चार सयभन्दा बढीलाई राखिएको छ । क्वारेन्टाइनमा रहेका २५ प्रतिशतभन्दा बढीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ, यहाँका एक स्वास्थ्यकर्मीले भन्नुभयो ।

शुक्रबार अपरान्ह थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना सङ्क्रमण हुनेको सङ्ख्याको एक सय पुगेपछि क्वारेन्टाइनको बसोबासप्रति पनि आवाज उठ्न थालेको छ । क्वारेन्टाइन अव्यवस्थित हुँदा र स्वाब परीक्षण पर्याप्त नभएका कारण क्वारेन्टाइनमा नै महामारीको रुपमा लिएको जनप्रतिनिधिहरूले बताएका छन् ।

यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बसन्त बानियाँले प्रदेश सभामा नै यहाँका क्वारेन्टाइन अव्यवस्थित हुँदा ठुलो महामारी हुने अवस्था आएको र यहाँ स्वास्थ्यकर्मीसमेत अभाव रहेको आवाज बिहीबार उठाउनुभएको थियो । त्यसलगत्तै प्रदेश सरकारले क्वारेन्टाइन व्यवस्थित गर्न १५ लाख रुपिया उपलब्ध गराउने निर्णय गरेको थियो ।

'क्वारेन्टाइनको अवस्था नै महामारी फैलने रहेको छ र यहाँ अहिले पनि क्वारेन्टाइनमा रहेका एक सयभन्दा बढीको स्वाब परीक्षण भएको छैन', प्रदेश सभा सदस्य बाँनियाले भन्नुभयो । भारतको दिल्ली, मुम्बइलगायत ठाँउहरूबाट घर फर्केकाहरूलाई ले क्वारेन्टाइनमा राखेको थियो ।

कचनकवल मा क्वारेन्टाइनभन्दा बाहिर समुदायमा भने कोरोना सङ्क्रमित भेटिएका छैनन् । गाँउपालिका अध्यक्ष अन्जार आलमका अनुसार आफुहरूले भारतबाट आउनेलाई समुदायमा घुलमिल हुनुभन्दा अघि नै क्वारेन्टाइनमा राख्दा क्वारेन्टाइनभन्दा बाहिर कोरोना फैलनपाएको छैन ।

जिल्ला स्तरीय कोरोना रोकथाम तथा समन्वय समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलका अनुसार क्वारेन्टाइनलाई व्यवस्थित गर्नका लागि र भित्र सामाजिक दूरी पालना गर्ने अवस्था सिर्जना गर्न प्रयास भइरहेको छ । पछिल्लो विवरण अनुसार झापामा कोरोना सङ्क्रमितको सङ्ख्या १०७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?