logo
२०८१ बैशाख ७ शुक्रवार



बाँके जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी

प्रदेश |
फिचर |


बाँके जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी


सिराज खान
नेपालगञ्ज, जेठ १४ गते । कोरोनाको हटस्पट बन्दैगएको बाँके जिल्लाभरि बुधबार राती १० बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा एकपछि अर्को गर्दै १७० जना कोरोना सङ्क्रमित भेटिएपछि अवस्था नियन्त्रणबाहिर जान थालेकोले बाँके जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ कुरुम्बाङले बाँकेमा कडाइ गर्ने निर्देशन दिँदै बुधबार रातीदेखिनै अनिश्चितकालीन निषेधाज्ञा जारी गर्नुभएको छ ।

लकडाउनको पालना नगरिएको पाइएकोले बाँकेमा बुधबार राति १० बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाउँदै प्रजिअ कुरुम्बाङले अर्को आदेश नहुँदासम्म जिल्लाभर निषेधाज्ञा जारी रहने बताउनुभयो ।

बाँकेमा हालसम्म १७० जनामा कोरोना पुष्टि भएको र एक जना सङ्क्रमितको मृत्युसमेत भइसकेकाले सजकता अपनाउन, सङ्क्रमणको बिस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवर्द्धनात्मक कार्य गर्न जरुरी रहेकाले अत्यावश्यकबाहेक सबै सेवा र स्थलमा निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।

नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरू भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, कृषिजन्य कार्य तथा कृषि तथा पशुपक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशप बाहेकमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कडा कारबाही गरिनेसमेत सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?