logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउनमा पनि धेरैले गरे विवाह

अन्तर्राष्ट्रिय |
समाज |


लकडाउनमा पनि धेरैले गरे विवाह


बैङ्लोर, जेठ ११ गते । बैङ्लोरमा आइतबार एक जोडी वैवाहिक जीवनमा बाँधिदै थिए जबकी त्यतिबेला बैङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागू गरेको थियो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ । भारतमा अहिले चौथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ । यस्तै अत्यावश्यक काम अन्तर्गत वैवाहिक कामलाई पनि मानिएको छ ।

उपयुक्त र पर्याप्त आधारहरू देखाउन सके, अहिले नै गर्नुपर्ने बाध्यात्मक कारण पेश गर्न सकेमा र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले वैवाहिक कार्यक्रम गर्नका लागि अनुमति दिने गरेको छ ।

यही आधारमा आइतबार कैयौँ जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूलाई भिडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पुरा गर्न अनुमती दिइएको छ ।

वैवाहिक कार्यक्रम गर्दा सामाजिक दूरी कायम गर्नु पर्ने, ५० जनाभन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनु पर्नेलगायत आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनै पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।

वैवाहिक कार्यक्रममा सहभागी एक जनाले भन्नुभयो, “हामीले सरकारको निर्देशन र मापदण्डलाई ख्याल गरेर नै २५ जनालाई मात्रै विवाहमा ल्याएका छौँ ।”

वैवाहिक जीवन शुरु गर्न लागेका अधिकांश बेहुला बेहुलीहरूले पनि मास्क लगाएका थिए भने अन्य सहभागीलाई अनिवार्य नै गरिएको थियो ।

वैवाहिक कार्यक्रममा गर्भवती, ६५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १० वर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने व्यवस्था पनि गरिएको छ ।

विवाह गरिएको ठाउँमा सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनुपर्ने र थर्मल गन मार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नुपर्ने सरकारले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।
सरकारले तय गरेका मापदण्डहरूलाई अवलम्बन गर्दै धेरै जोडीले लकडाउनका बेलामा पनि वैवाहिक जीवन शुरु गरेका हुन् । उनीहरूको वैवाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा फरक मानिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?