logo
२०८० चैत्र १६ शुक्रवार

 भीमफेदी–कुलेखानी सुरुङमार्गको बजेट सुनिश्चित 



१९ अर्ब ३२ करोडको लागत, चार वर्षभित्र सम्पन्न गरिने

प्रदेश |


१९ अर्ब ३२ करोडको लागत, चार वर्षभित्र सम्पन्न गरिने


राममणि दाहाल
हेटौँडा, वैशाख २८ गते । लामो समयदेखि चर्चामा रहेको बहुप्रतिक्षित भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजना निर्माण गर्न बजेट सुनिश्चित भएको छ । बाग्मती प्रदेश सरकारको गौरवको आयोजनामध्येको भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण तयार भएसँगै परियोजनाका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गरेको छ ।
बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आइतबारको मन्त्रिस्तरको निर्णयबाट आयोजनाको स्रोत सुनिश्चित गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निर्णयपछि आइतबार नै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै बहुवर्षीय योजना अन्तर्गत बजेट सुनिश्चित गरेको जनाएको छ ।
सुरुङमार्ग अन्तर्गत दुई लेनको सुरुङ, सुरुङसम्म पुग्ने पहुँच मार्गलगायतका संरचना निर्माण, सुपरीवेक्षण परामर्श सेवा र आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरणसमेत गरी आयोजना सम्पन्न गर्न १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार पाँच सय रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
सुरुङमार्ग आयोजना आगामी चार आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले सुरुङमार्गका लागि आयोजनाको डीपीआर निर्माणसँगै बजेट सुनिश्चित भएको बताउँदै अब छिट्टै बोलपत्र आव्हान गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, चालु आर्थिक वर्ष भित्रै अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गर्ने गरी तयारी गर्ने छांै । तीन दशमलव १७ किलोमिटरको सुरुङ मार्ग लगायतका संरचना डिजाइन र निर्माण विधिअन्तर्गत निर्माण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयको पत्रमा उल्लेख छ ।
सुरुङ मार्गअन्तर्गत दुई लेनको सुरुङ, सुरुङसम्म पुग्ने पहुँच मार्ग लगायतका संरचना निर्माण गर्न १८ अर्ब ७२ करोड सात लाख ७६ हजार पाँच सय रुपियाँ बहुवर्षीय योजनाअन्तर्गत विनियोजन हुने भएको छ ।
आयोजनाको पहिलो वर्ष आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि दुई अर्ब, दोश्रो वर्ष आर्थिक वर्ष २०७८÷०७९ र तेश्रो वर्ष आर्थिक वर्ष २०७९÷०८० का लागि छ–छ अर्ब प्रदेश सरकारले विनियोजन गर्ने भएको छ । यस्तै चौथो वर्ष अर्थात अन्तिम वर्ष आर्थिक वर्ष २०८०÷०८१ मा सुरुङ मार्ग आयोजनाका लागि प्रदेश सरकारले चार अर्ब ७२ करोड सात लाख ७६ हजार पाँच सय रुपियाँ विनियोजन गर्ने जनाएको छ ।
यसैगरी पोष्टबहादुर बोगटी सुरुङ मार्ग आयोजनाको सुपरीवेक्षण परामर्श सेवाका लागि ५७ करोड ५८ लाख रुपियाँ चार आर्थिक वर्षमा खर्च गर्ने गरी बजेट सुनिश्चित भएको छ । भीमफेदी–कुलेखानी सुरुङ मार्ग आयोजनाको आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण गर्न अनुमानित दुई करोड रुपियाँ विनियोजन गरिने भएको छ ।
यही वैशाखभित्रैबाट निर्माण सुरु गर्ने गरी आयोजनाको सर्भे, डिजाइनर डीपीआर निर्माणलगायतका काम गत मङ्सिरबाट सुरु गरिएको थियो ।
प्रस्तावित सुरुङमार्ग मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाको वडा नम्बर ६ र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी जोड्ने गरी निर्माण हुने छ ।
बाग्मती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक सहदेव भण्डारीले आयोजनाका लागि स्रोत सुनिश्चित भएसँगै बोलपत्र आव्हान लगायतका निर्माण प्रक्रिया अगाडि बढाउन सहज भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार साढे सात–साढे सात मिटर चौडाइको दुई वटा सुरुङ मार्ग निर्माण हुने छ ।
आयोजनाको ड्रोनको सहयोगमा टोपोग्राफिकल सर्भे, आयोजनास्थलको माटो परीक्षण, जियोफिजिकल सर्भेलगायतका काम पूरा भएको छ ।
प्रदेश सरकार गठन भएसँगै भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढाए पनि गत आर्थिक वर्षमा काम सुरु भएन र विनियोजित बजेट खर्च हुन सकेन । चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रस्तावित आयोजनाको सर्भे र डिजाइनको काम एक करोड २० लाख रुपियाँ विनियोजन गरेको छ ।
प्रस्तावित सुरुङमार्गमा ग्यास र पेट्रोलियम पदार्थको पाइपलाइनसँगै अत्यावश्यक पर्दा प्रयोग गरिने सिङ्गललेनको अर्को सुरुङसमेत निर्माण गर्ने गरी डिजाइन गरिने भएको छ । सुरुङमार्गको पहुँचमार्गको रुपमा दक्षिणतर्फ हाल प्रयोगमा रहेको भैंसै–भीमफेदी सडक तथा उत्तरतर्फ सिस्नेरी–दक्षिणकाली सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक प्रयोगमा ल्याइने भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?