logo
२०८० चैत्र १६ शुक्रवार



झडप हुँदा प्रहरीसहित तीन जना घाइते

प्रदेश |




दैलेख समाचारदाता
दैलेख, बैशाख २८ गते । चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सात टाकुरामा सडक खन्ने क्रममा झडप हुँदा एक प्रहरीसहित तीन जना घाइते भएका छन् । धनपायाबाट आधिघर हुँदै सात टाकुरा जाने सडक खन्ने विषयमा शनिबार साँझ विवाद हुँदा झडप भएका प्रहरीले जनाएको छ ।
झडपमा २५ वर्षीय प्रहरी जवान भीमबहादुर सुनार, चामुण्डा नगरपालिका–४ सातटाकुराका २८ वर्षीय कमल शाही र ५५ वर्षीय रमेश शाही घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये कमल शाहीको उपचार दैलेख जिल्ला अस्पतालमा भइरहेको, रमेश शाही र प्रहरी जवान सुनारको उपचार दुल्लू अस्पतालमा भइरहेको छ ।
प्रहरीमाथि नै ४०–४५ जना आइलागेपछि इलाका प्रहरी कार्यालय दुल्लूबाट इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोराको नेतृत्वमा गएको थप बलले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरी हवल्दार चन्द्रबहादुर रेउलेको कमाण्डमा रहेको प्रहरी चौकी जम्वुकाँधमा रातिदेखि असई प्रेमप्रसाद शर्मालाई खटाइएको छ ।
कर्णाली प्रदेश सरकारको २५ लाख रुपियाँ र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको पाँच लाख रुपियाँ लागतमा धनपायाबाट सात टाकुरा–नाव सालडाँडा हँुदै जंगलसम्म १३ किलोमिटर सडक खन्न रमेश शाहीको अध्यक्षतामा गठित उपभोक्ता समितिको सट्टा अर्को उपभोक्ता समिति पनि नगरपालिकामा दर्ता गराउन ल्याएको विषयमा विवाद सुरु भएको थियो ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका उपप्रमुख तारा शाही खत्रीले उपभोक्ता समितिको विवाद चर्काउन जग्गाधनी कमल शाहीलाई जग्गा नदिन खोजेको तर उहाँलाई समेत सहमत गराएर सडक खन्न डोजर लगाइरहेको बेला केही व्यक्तिहरुले विवाद निकालेपछि बोलाइएको प्रहरीमाथि आक्रमण भएको बताउनुभयो । अघिल्लो साता जिल्ला सुरक्षा समितिको बैठकले सामाजिक दुरी कायम गर्दै विकास निर्माणको काम गर्न अनुमति दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?