logo
२०८१ बैशाख ८ शनिवार

  भारतको क्वारेन्टाइनमा नेपालीकाे दिनचर्या 



तौलिएर खाना, योग गुरुबाट दैनिक योग प्रशिक्षण

प्रदेश |


तौलिएर खाना, योग गुरुबाट दैनिक योग प्रशिक्षण


गाकर्ण दयाल
बैतडी, चैत २८ गते । घर फर्किन झुलाघाट पुगेर भारतीय क्वारेन्टाइनमा रहेका नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढाउन एक भारतीय संस्थाको पहलमा योग कक्षा सञ्चालन भर्ईरहेको छ ।

घर फर्किन झुलाघाट सीमा नाकामा आईपुगेका नेपालीलाई भारतको पिथौरागढ जिल्ला स्थित कार्ड सामाजिक संस्थाको पहलमा योग कक्षा सञ्चालन भईरेको हो ।

घर फर्किन सीमा नाकामा उदास देखिएका नेपालीको मनोवल बढाउन र शारीरिक रुपमा रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रशासन र कार्ड संस्थाको पहलमा खाना खुवाउने र योग कक्षा सञ्चान भइरहेको भारतीय कार्ड संस्थाका सुरेन्द्र आर्याले बताउनुभयो ।

आर्यले भन्नुभयो, “ नेपालीहरु आफ्नै दाजुभाइ हुन् । अझ नेपाल–भारतबीच समाजिक, सांस्कृतक र वैवाहिक सम्बन्ध समेत रहेकोले नेपालीहरूको पीडामा साथ दिनु भारतीयको कर्तव्य हो । त्यसैले सामाजिक संस्था कार्डको तर्फबाट म आफै दैनिक एक छाक प्रति एक जनालाई ३५० ग्राम चामल, एकसय ग्राम दाल उपलब्ध गराईरहेको छु । योग कक्षा दिन सन्तलाल वर्माजीले सहयोग गर्नुभएको छ ।”

योग कक्षाले जीवनको महत्व बुझाउने र शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउने हुनाले योग सिक्दा जीवनपर्यन्त काम लाग्ने कार्ड संस्थाका आर्याले बताउनुभयो ।

सीमामा रहेका नेपालीले पेटभरी खान नपाएको गुनासो गरेका छन् नि ? भन्ने प्रश्न गर्दा आर्याले भन्नुभयो, –“खानपिन योगको नियम अनुसार भईरहेको छ । योग गुरु एवं पूर्व अध्यापक सन्तलाल वर्माजी पतञ्जली योगका ज्ञाता हुनुहुन्छ । यो सङ्कटको घडीमा छिटो घर जाने मन नेपालीलाई हुुनु स्वभाविक हो तर, हामी पनि लकडाउनका बेला घर बाहिर निस्केर नेपालीको सेवा गरिरहेका छौ । उहाँहरुको सम्पूर्ण रेखदेख भईरहेकोले आत्तिनु पर्ने अवस्था छैन ।”

भारतबाट घर फर्किन झुलाघाट सीमा नाकामा एक हप्तादेखि २४९ जना नेपाली सीमामा प्रतिक्षा गरिरहेका छन् । नेपाल सरकारले छिटो पहलकदमी गरेर घर फर्काउन पहल गर्नुपर्ने सीमामा रहेका नेपाली महावीर भुलले बताउनुभयो ।

सीमा नाकामा आईपुगेका नेपालीको स्वास्थ्य परीक्षण गरेर झुलाघाट नजिकै पिथौरागढ जिल्लाको पञ्चायत घर र राष्ट्रिय प्राविमा १०४ जना, गौडीहाट ग्वालीमा ८८ जना र धर्मशाला तालेश्वरमा ५७ गरि २४९ जना नेपालीलाई भारतले क्वारेन्टाइनमा राखेको हो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

भारतीय सीमा नाकामा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउन बैतडीबाट निर्वाचित सङ्घीय सासंद् दामोदर भण्डारी, प्रदेशसभा सदस्य लीलाधर भट्टले पहलकदमी चाल्नु भएको छ ।
केन्द्र सरकारले भारतीय सरकारसँग उच्चस्तरीय वार्तापछि सीमा नाकामा रहेका नेपालीलाई आदेश आउननेबित्तिकै तीन घण्टामै नेपाल ल्याउन सकिने र सोही अनुसारको क्वारेन्टाइनको व्यवस्थापनको तयारी भईरहेको बैतडीका प्रमखु जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?