logo
२०८१ बैशाख ५ बुधवार



तनहुँमा विदेशबाट आएकाहरु स्वास्थ्य कार्यालयको सम्पर्कमा

प्रदेश |


तनहुँमा विदेशबाट आएकाहरु स्वास्थ्य कार्यालयको सम्पर्कमा


तनहुँ चैत १८ गते ।  तनहुँमा विदेशबाट घर फर्किएका पाँच सय १० जना स्वास्थ्य कार्यालयको सम्पर्कमा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार उनीहरूमा कुनै समस्या देखिएको छैन र सामान्य अवस्थामा पाइएकाले हाल होम क्वारेन्टाइनमा सुरक्षित रहन भनिएको छ ।
उनीहरू करीब दुई साताका अवधिमा भारत, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिका, जापान, अष्ट्रेलिया, मलेसियालगायत विभिन्न देशबाट फर्किएका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा गठन गरिएको शीघ्र प्रतिकार्य समूहको सहयोगमार्फत आइतबारसम्म उनीहरूको तथ्याङ्क सङ्कलन गरिएको होे । समयसमयमा चिकित्सकद्वारा घरमै क्वारेन्टाइनमा रहेका उनीहरूको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ ।

५३ शैय्याका आइसोलेशन कक्ष
तनहुँमा हालसम्म ५३ शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा २७, व्यासनगरपालिकास्थित किरियापुत्री भवन, बन्दीपुरस्थित बन्दीपुर अस्पतालमा आठआठ र व्यासनगर–५ स्थित परासर आधारभूत विद्यालयमा आठ कक्षका आइसोलेशन निर्माण गरिएको छ ।

स्वास्थ्य परीक्षण गर्न डराउँछन् स्वास्थ्यकर्मी
म्याग्दे गाउँपालिका–२ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षणमा आउने सर्वसाधारणलाई वेवास्ता गर्ने गरेका छन् । रक्तचापमा एक्कासि समस्या आएपछि सोमबार सोही वडा निवासी ६६ वर्षीय शम्भुलाल श्रेष्ठले नाप्न जाँदा उल्टै स्वास्थ्यकर्मीले अभद्र व्यवहार गर्ने गरेको बताउनुभयो ।
वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले अहिलेको परिवेशमा स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री नहुँदा झ्वाट उपचारमा जान सकिने अवस्था नभएको बताउनुभयो ।

उल्लङ्घन गर्नेलाई प्रशिक्षण
जिल्ला प्रहरी कार्यालयले जथाभावी विनाकाम हिँड्ने ६० व्यक्तिलाई सोमबार पक्राउ गरी डेढ घण्टाको प्रशिक्षण दिएको छ । प्रहरीले लकडाउनको उल्लङ्घन गर्नेहरुलाई खोजीखोजी समात्दै अनशन चौतारी नजीक खुला चौरमा लगेर प्रशिक्षण प्रदान गरेको हो ।
लकडाउन गर्ने ५६ पुरुष र चार महिलालाई रोग र लकडाउनका बारेमा प्रहरीले प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?