logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना कहरः विपन्नलाई खाना खुवाउँदै नगरपालिका

प्रदेश |


कोरोना कहरः विपन्नलाई खाना खुवाउँदै नगरपालिका


गलकोट, चैत १६ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण बागलुङ जिल्ला सदरमुकाममा बसोबास गर्ने विपन्न तथा मजदूरहरुलाई आजदेखि दिवा खाना खुवाउन शुरु गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले मङ्गलबारदेखि लक डाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई दिवा खाना खुवाउन थालिएको नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बानपा–४ कुडुँले स्थित शालिग्राम सङ्ग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा खाना खुवाउन थालिएको हो ।

जिल्ला सदरमुकाममा बसेर ज्याला मजदूरी गर्ने श्रमिक, गरिब, विपन्नका लागि सञ्चालन गरिएको मेसबाट पहिलो दिन ६८ जनालाई खुवाइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाका अनुसार बजारमा सञ्चालित मानव सेवा आश्रमका ४० जना, अन्य इट्टा तथा उद्योगमा कार्यरत मजदूरलाई समेत खाना पठाइएको छ ।

मेस सञ्चालनका लागि नगरपालिकाले खाद्य सामग्रीको जोहो गरिदिएको छ भने मुक्तिनाथ वेद विद्याश्रमले खाना तयार गरेर वितरणको प्रवन्ध मिलाएको छ । भीडभाड नगरी खाना खुवाउने व्यवस्था गरिएको छ ।

मुलुकभरी भएको लक डाउनका कारण रोजीरोटी गुमेर विहानबेलुका हातमुख जोर्न समस्या भएकालाई दिवा खाना खुवाइएको नगरप्रमुख पौडेलको भनाइ छ । नगरपालिकाले लक डाउनका कारण मजदूरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत सङ्कलनको काम समेत अघि बढाएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथामका लागि १५ लाखको राहत कोषसहित नगर क्षेत्रमा कोरोना रोकथामका लागि किटनाशक औषधि छर्ने कार्य समेत गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?