logo
२०८० चैत्र १६ शुक्रवार



गाईवस्तुलाई दानाको अभाव

प्रदेश |


गाईवस्तुलाई दानाको अभाव


पूर्णप्रसाद मिश्र र विक्रम गिरी

कठमाडौँ, चैत १३ गते ।  राजधानीका गाईवस्तु व्यवसायीलाई दानाको अभाव भएको छ । सरकारले कोरोना भाइरसका कारण मुलुकभर एक साताका लागि ‘लकडाउन’ गरेपछि दानाको अभाव भएको हो ।

पराल, भुसा र दाना सहजरूपमा आपूर्ति नभएपछि गाईवस्तुलाई खुवाउने खुराकको अभाव भएको हो । नागार्जुन नगरपालिका–६ स्युचाटारमा मुखिया कृषि फार्म सञ्चालन गर्दै आउनुभएका नम्रता राउत कहाँ बुधबार नै पराल सकिएको छ । पराल काटेर बनाएको भुसा लकडाउन हुनुअघि एक बोरा रु ४५० मा पाइन्थ्यो । अहिले रु ६०० मा पनि पाउन छाडेको छ । केहीले एक बोरा भुसा रु एक हजारमा समेत किन्ने गरेका छन्, त्यो पनि पाईदैन् ।

“बुधबार छ बोरा भुसा ल्याएकी थिएँ, आजै सकिने अवस्था छ, अब गाईलाई के खुवाउने रु”, राउतले पीडा सुनाउनुभयो । उहाँको फार्ममा २५ गाई छन् । गाई कसरी बचाउने भन्ने चिन्ताले राउतलाई सताएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–२९ अनामनगरमा २१ गाई पालिरहनुभएका भोजराज कार्कीको पनि राउतको जस्तै अवस्था भएको छ । बालाजु औद्योगिक क्षेत्रबाट ल्याउने गरिएको दाना तीन दिनदेखि बन्दका कारण ल्याउन नसकिएको उहाँले बताउनुभयो । “तराईबाट पराल समेत ल्याउन नसक्दा अब के गर्ने भन्ने पिरलो भएको छ”, कार्कीले भन्नुभयो । दानाको अभाव भएपछि उहाँले राजधानीका विभन्न तरकारी बजारबाट बासी तरकारी किनेर खुवाउने गरेको कार्कीले बताउनुभयो ।

“अहिले तरकारी बजार सबै बन्द छन् । गाईलाई खुवाउने जोहो गर्न अब कुनै विकल्प छैन”, उहाँले भन्नुभयो । कार्कीको फार्ममा अनामनगर, घट्टेकुलो, बानेश्वरलगायत ठाउँबाट सर्वसाधारण दैनिक बिहान र बेलुका दूध किन्न आउने गरेका थिए । ती सबै अब आउन छाडेको कार्कीले बताउनुभयो ।

यसैगरी चाङ्गुनारायण नगरपालिका–९ सरस्वतीखेलमा ‘हाम्रो डेरी तथा कृषि फार्म हाउस’ चलाउँदै आउनुभएका दीपक बुढाथोकी दाना र भुसाको मूल्य अत्यधिक वृद्धि भएपछि गाईपालन गर्न समस्या भएको बताउनुभयो । यो समस्या उहाँको मात्र होइन, राजधानीका तीनवटै जिल्लामा रहेका सयौँ गाई, बाख्रा र र्भैँसी फार्म सञ्चालकको हो ।

लकडाउनका कारण दाना आपूर्ति गर्न असहज भएपछि गाईवस्तु बचाउन उनीहरुलाई समस्या भएको छ । बुधबार सरकारले कुखुराको दाना बोक्ने सवारीसाधनलाई निर्वाध रुपमा चलाउन दिने निर्णय गरेको थियो । यस्तै व्यवस्था आफूहरुको हकमा पनि गर्नुपर्ने गाई, भैँसी र बाख्रापालन गर्ने किसान तथा व्यवसायीको माग छ ।

कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले नीतिगतरूपमा गाईवस्तुका लागि दाना ढुवानी गर्न समस्या नभएको बताउनुभयो । “दाना ढुवानी गर्न सरकारले छुट दिएको छ, रोकेको छैन”, उहाँले भन्नुभयो । दानाबाहेक पराल, घाँस, भुसालगायत वस्तु ढुवानीका लागि सवारी साधनलाई सञ्चालन गर्न छुट दिने विषयमा स्थानीय प्रशासनका तर्फबाट केही समस्या आएको सुन्नमा आएको र यसबारे गृह मन्त्रालयसित छलफल गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?