logo
२०८१ बैशाख १३ बिहीवार



विद्यालयकाे काेठा वडालाई भाडामा, सेवाग्राही आउँदा पठनपाठन प्रभावित

प्रदेश |
शिक्षा |


विद्यालयकाे काेठा  वडालाई भाडामा, सेवाग्राही आउँदा पठनपाठन प्रभावित


प्रकाशचन्द्र भट्टराई

दमौली, माघ २३ गते । तनहुँको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर २ को कार्यालय सञ्चालन गरिएको छ । यसरी विद्यालयमै वडा कार्यालय राख्दा बालबालिकाको पठनपाठनमा समस्या हुने गरेको छ ।

२०७४ भदौ १८ गतेदेखी सो विद्यालयको एक कोठामा वडा कार्यालय सञ्चालन गरिएको हो । विद्यालयका प्रअ टेकबहादुर आलेले वडाको अनुरोधमा विद्यालयको एउटा कोठा कार्यालय सञ्चालनकालागि उपलब्ध गराईएको बताउनुभयो । ‘वडा कार्यालयमा कहिलेकाँही धेरै सेवाग्राही आउदाँ पठन पाठनमा समस्या हुन्छ’ प्रअ आलेले भन्नुभयो । वडा कार्यालयमा कहिलेकाँही विभिन्न विषयमा विवादका कुराहरु आउने र त्यसले पनि पठन पाठनमा समस्या हुने उहाँले बताउनुभयो ।

गाउँमा वडा कार्यालय राख्नकोलागि उपयुक्त कोठा नपाएको हुँदा विद्यालयसँग अनुरोध गरेर कार्यालय सञ्चालनकोलागि एउटा कोठा मागिएको वडा अध्यक्ष पोलबहादुर आलेले बताउनुभयो । वडा अध्यक्ष आले निर्वाचित हुनु अघि सो विद्यालयको प्रअ भएको कारण पनि वडा कार्यालयकोलागि विद्यालयको कोठा उपलब्ध गराउन सहज भएको प्रअ आलेले जानकारी दिनुभयो ।
सबै वडावासीलाई पायक पर्ने ठाउँमा र सबैको सुविधाकोलागि विद्यालयमा कार्यालय सञ्चालन गर्नु बाध्यता रहेको वडा अध्यक्ष आलेले बताउनुभयो । उहाँका अनुसार गाउँलेका घर कार्यालय सञ्चालनकालागि उपयुक्त नभएको हुँदा जसोतसो कार्यालय चलाउनु परेको उहाँले बताउनुभयो ।

विद्यार्थी पढ्ने कक्षा र वडा कार्यालय एउटै भवनमा जोडिएको कारण पनि कहिले काँही पठन पाठनमा समस्या हुने गरेको वडा अध्यक्ष आलेले स्विकार गर्नु भयो तर यो भन्दा अन्य विकल्प केही नभएको हुँदा अहिले जसोतसो काम चलाईएको उहाँको भनाई छ ।

वडामा विभिन्न कामहरु लिएर दैनिक करिब पन्ध्र जनाको संख्यामा सेवाग्राहीहरु आउने गरेका छन् । तर, कक्षाको नजिकै कार्यालय भएकाले सेवाग्राही धेरै आउँदा हल्ला नगरी बस्नुस् बालबालिकाको पढाइमा असर पर्छ, तपाइको काम हुन्छ भन्छौं तर, कहिलेकाहीँ अत्यन्तै धेरैजना काम लिएर आउनुहुन्छ त्यस्तो बेलामा भने बालबालिकाको पढाइ प्रभावित हुने गरेको वडाध्यक्ष आलेले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन लगत्तै तालबारी भन्ने ठाउँमा एउटा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिएपनि वडाबासीलाई अपायक हुने र उहाँहरुलै आग्रहमा व्यागानमा कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष आलेले बताउनु भयो । कक्षा ८ मा अध्ययनरत विद्यार्थी रमेश विकले कहिलेकाही सेवाग्राही धेरै आउँदा हल्ला हुने र पढाईमा बाधा पर्ने बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले तत्कालकोलागि अन्य केही विकल्प नहुँदा विद्यालयमा नै कार्यालय सञ्चालन गरिएको बताउनु भयो । सो वडाको नयाँ भवनको शिलान्यास समेत भईसकेको र अब एक वर्ष भित्र भवन बनाईसक्ने भएकोले यो समस्या धेरै दिन नहुने उहाँको भनाई छ ।

विद्यालयको पठन पाठनम कुनै असर नगर्ने गरि वडा कार्यालय सञ्चालन गर्न वडा समितिलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । विद्यालयमा दुई सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?