logo
२०८० चैत्र १६ शुक्रवार



नोबेल कोरोना भाइरस सङ्क्रमण रोक्न तीव्र गृहकार्य

मुख्य समाचार |


नोबेल कोरोना भाइरस सङ्क्रमण रोक्न तीव्र गृहकार्य


सरोज ढुङ्गेल

काठमाडौँ, माघ १५ गते । छिमेकी चीनको उहानमा सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमणका बिरामी नेपालमा पनि भेटिएको पुष्टि भएपछि नियन्त्रणका लागि सरकारले गृहकार्य तीव्र पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियन्त्रणका लागि गृहकार्य अगाडि बढाएको हो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयो, ‘‘अन्यत्र भाइरस नफैलियोस् भन्ने उद्देश्यले काम तीव्र पारिएको छ ।’’
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ  । बाहिरबाट आउने यात्रुलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखियो भने सीधै विमानस्थलबाट अस्पताल पु¥याइने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विमानस्थलको थर्मल स्क्यानरमा ज्वरोका बिरामी देखिए एम्बुलेन्समार्फत अस्पताल पु¥याउने व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा थप स्वास्थ्यकर्मीको व्यवस्था गरेर स्वास्थ्य परीक्षण समेत सुरु गरिएको छ ।”
उहाँले नेपालमा एकजनाबाहेक अन्यलाई कोरोना भाइरस नदेखिएको जानकारी दिनुभयो । चारजनाको परीक्षण गरिएकोमा तीनजनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अन्यत्र नफैलियोस् भनेर गम्भीरताका साथ काम गरिरहेका छौँ ।” चीनमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भइसकेको छ । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्नसमेत थालिएको जानकारी दिनुभयो । यसअघि नेपालमा आवश्यक केमिकल नहुँदा कोरोना भाइरसको आशङ्कामा परीक्षण गर्न हङ्कङ पठाइएको थियो । हङ्कङ पठाइएको व्यक्तिको नमुना कोरोना भाइरस पुष्टि भएको थियो ।

मानव जातिमा पहिलो पटक
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस पशुहरूबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा सर्ने गर्दछ । मन्त्रालयका प्रवक्ता श्रेष्ठले चीनमा नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको भन्दै मानव जातिमा भने पहिलो पटक चीनको उहान प्रान्तमा देखिएको बताउनुभयो । उहाँले कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारका तीव्र स्वासप्रश्वास सङ्क्रमणसम्म गराउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बत(ानुभयो । चीनमा पहिलो पटक देखिएको भाइरस हाल १९ वटा देशमा देखापरिसकेको छ ।
प्रवक्ता श्रेष्ठले नेपालमा कोरोना भाइरस सर्न नदिन उच्च सतर्कता अपनाइएको उल्लेख गर्दै भाइरसले नेपाललाई पार्न सक्ने असरलाई ध्यान दिई विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको जानकारी दिनुभयो । उहाँले काठमाडाँै, लुम्बिनी, पोखरा, चितवन लगायत पर्यटकीय क्षेत्रमा हेल्थडेस्क समेत स्थापना गरिसकेको बताउनुभयो । उहाँले ती ठाउँमा आइसोलेसन वार्डको समेत व्यवस्था मिलाइसकेको जानकारी दिनुभयो । उहाँले चीनमा अध्ययनरत विद्यार्थीसँग चीनस्थित नेपाली दूतावासमार्फत विच्याट खडा गरी नियमित सम्पर्कमा रहेको
उल्लेख गर्नुभयो ।
पुष्टि नभएपछि डिस्चार्ज
यसैबीच शुक्रराज सरुवा रोग अस्पतालमा कोरोना भाइरसको आशङ्कामा उपचार गरिरहेका दुई बिरामीलाई डिस्चार्ज गरिएको छ । उनीहरूमा कोरोना भाइरस नभएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो । अस्पताल निर्देशक डा. वासुदेव पाण्डेले दुई जनामा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बत(ाउनुभयो । अर्का एक बिरामीको रिपोर्ट पनि नेगेटिभ आएको उहाँको भनाइ छ ।
चीनबाट आएका व्यक्तिको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो । चीनबाट फर्किएका एक विद्यार्थीमा यसअघि नै कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको थियो ।

के हो कोरोना भाइरस ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना एक भाइरसको समूह हो । जुन भाइरसले मानिसको श्वास प्रश्वासमा असर गर्दछ । कोरोनाले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई मृत्युसम्म पु¥याउँछ । यो पशुबाट मानिसमा सर्ने गर्दछ ।
कोरोना भाइरसका लक्षण
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरसमा ज्वरो आउने, श्वासप्रस्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने हुन्छ । कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी लागेमा चिकित्सकको सल्लाह लिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भाइरस लाग्न नदिन नियमित रूपमा साबुन पानीले हात धुने, मास्क लगाएर हिँड्ने, गाडीमा यात्रा गर्दा सतर्कता अपनाउनुपर्ने बताउनुभयो । यस्तै खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने, फ्लु जस्तो लक्षण देखिएमा अस्पताल जान सुझाव दिनुभयो । जङ्गली तथा घरेलु पशुपन्छीबाट टाढा रहनुपर्ने उहाँको भनाइ छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?