logo
२०८० चैत्र १६ शुक्रवार



सडक दुर्घटना घटाउन टाइम कार्ड

प्रदेश |


सडक दुर्घटना घटाउन टाइम कार्ड


टीकाराम उप्रेती

झापा, माघ १३ गते । झापामा जिल्लाभरीका सडक खण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई टाईम कार्ड लागु गरेपछि होडबाजी गर्दै अनियन्त्रित रुपमा हुइकिने प्रवृति नियन्त्रण भएको छ ।

टाईम कार्ड लागू भएपछि सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आएपछि दुर्घटनामा समेत कमी हुने अपेक्षा गरिएको छ । झापामा सडक दुर्घटना अत्यधिक बढेर गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले टायम कार्ड लागु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक होम अधिकारीका अनुसार जिल्लामा विगत ६ महिनामा ३८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए ।

हरेक दुर्घटनाको अध्ययन गर्दा सार्वजनिक सवारी साधनमा चालकले अत्यधिक गतिले प्रतिस्पर्धात्मक तरिकाले हाकेका कारण दुसर्घटना बढेको पाइएको थियो । यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले जिल्लाभरीका सार्वजनिक सवारी साधनलाई अनिवार्य टाइम कार्ड लागु गरिएको हो ।

टायम कार्डको नियम अनुसार जिल्लाको पूर्वीकाँकरभिट्टाबाट छुटेको यात्रुवाहक सवारी साधनले विर्तामोडसम्म आइपुग्नका लागि न्यूनतम ३० मिनेट लगाउनु पर्नेछ । यसको जाँच विर्तामोडमा गरिन्छ । त्यसपछि विर्तामोडदेखि झापाको पश्चिम क्षेत्र दमक पुग्न न्यूनतम ५५ मिनेट लगाउनु पर्नेछ ।

तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुगे जरिमाना लगायत अन्य कारवाही हुने ट्राफिक प्रहरीको भनाई छ । दुर्घटना न्यूनीकरणका लागि राडरगनको प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी चलाउन पूर्णरुपमा रोक, सवारी चालक अनुमति पत्र नहुनेलाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाएपनि त्यसले मात्र पर्याप्त नभएपछि सवारी दुर्घटनाका लागि टाइम कार्ड लागू गरिएको हो ।

कार्ड लागू गरिएसँगै तिव्र गतिमा हुइँकिने सवारी आफैं नियन्त्रित हुने दमकका ट्राफिक प्रमुख यज्ञराज शर्माको भनाइछ । सार्बजानिक यातायतमा यात्रा गर्न सुरक्षिता भएको सहज भएको र यो प्रकृया देशैभरि लागू गर्न यात्रुहरुले सुझाव दिएका छन् । सूर्योदय यातायातका चालक कृष्णबहादुर सुनुवार यसरी टायम कार्डले यात्रा सुरक्षित हुने बताउनुहुन्छ । हामीलाई पनि चाँडो हाक्नु भन्ने दवाव आउथ्यो त्यो बन्द भयो ।

दुर्घटनामा ६ महिनामा ३८ को मृत्यु

झापामा चालू आर्थिक बर्षको हालसम्ममा सवारी दुर्घटनामा परि ३८ जनाको ज्यान गएको छ । गत साउन महिना यता सवारी दुर्घटनामा परी झापामा मात्र यति धेरै मानिसले दुर्घटनामा ज्यान गुएका छन् । पूर्वको सीमाना काँकरभिट्टादेखि पश्चिम झापाको सीमाना मावा खोलासम्मको ५५ किलोमिटर क्षेत्रफल र सहायक सडक–खण्डका १ सय ३१ स्थानमा भएका सवारी दुर्घटनामा परी २ सय २२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा २७ जना पुुरुष, ९ महिला र २ बालबालिकाको मृत्यु भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालू आर्थिक बर्षको पुस मसान्तसम्ममा ३१ हजार ६ सय ५० वटा सवारी साधनका धनि र चालकलाई कार्बाही गर्दा २ करोड ३० लाख ३४ हजार ५ सय रुपैया राजश्व संकलन भएको झापा ट्राफिक प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?