logo
२०८० चैत्र १६ शुक्रवार



गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम

प्रदेश |


गाउँपालिका कार्यालयमा आगजनी, नेकपा जिल्ला अध्यक्षको घरमा बम
तस्बिरः गोकर्ण दयाल, बैतडी


बैतडी, माघ ८ गते ।  बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।

यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ । पालकै से१च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ ।

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ ।

डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । राज्य पुनःस्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ । 

यसैबीच बैतडी स्थित गोरखापत्र समाचारदाता गोकर्ण दयलायका अनुसार  बुधबार विहान उठ्ने बेला घरको कम्पाण्डमा राखेको गाडी र स्काभेटर जलिरहेको नेकपा बैतडीका अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । अध्यक्ष पालले भन्नुभयो,–“ घरको कम्पाउण्डमा शंकास्पद वस्तु फेला परेको छ । बम नै हुनुपर्छ भन्ने लागेको छ ।”

गोरखापत्रसित कुरा गर्दै अध्यक्ष पालले गाउँपालिकाको केन्द्रको बारेमा विवाद थियो, केही व्यक्तिले गाउँपालिकाबिरुद्ध गतिविधि गर्दै आईरहेकोले ती व्यक्ति घटनामा संलग्न रहेको हुनसक्ने बताउनुभयो ।

घटना बारे थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले प्रहरी र नेपाली सेनाको टोली घटना स्थलतर्फ हिँडेको जानकारी दिनुभयो ।

डिएसपी पाण्डेले गाउँपालिकाको भूँई तलमा रहेको एउटा कोठा, गाउँपालिकाले भाडामा लिएको स्काभेटर र स्कारपियो गाडीमा आगजनी भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?