logo
२०८० चैत्र १६ शुक्रवार



चिसो छल्न झरे पश्चिम रुकुममा भेडीगोठ

प्रदेश |


चिसो छल्न झरे पश्चिम रुकुममा भेडीगोठ


सुरेन्द्र खत्री

रुकुम (पश्चिम), माघ १ गते । हिमाली जिल्ला रुकुम पूर्वमा चिसो बढेसँगै जिल्लाका उत्तरी भेगका भेडा पालक किसान भेडाका बथानसहित पश्चिम रुकुममा झरेका छन् । मौसम अनुसार घुम्ती रुपमा भेडापालन गर्ने किसान न्यानो नहुन्जेलसम्म यतै रहनेगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ साँखमा आएका हुन् ।

आफ्ना करिब डेढसय भेडा लिएर चिसो छल्न यहाँ आएको पुथाउत्तरगंगा गाउँपालिका –११ सेराका करबहादुर बुढाले बताउनुभयो । आफूसँगै गाउँका अन्य दुई किसान पनि भेडीगोठ लिएर रुकुम पश्चिम आइपुगेको उहाँले जानकारी दिनुभयो । सबैजनाका गरेर मुसिकोट नगरपालिका ७ र ८ मा पर्ने जंगलमा अहिले करिब चार सय भेडा रहेका छन् । पुसको पहिलो सातादेखि रुकुम पूर्वमा अत्यधिक चिसो बढ्ने भएकोले चिसोबाट जोगिन स्थानीय किसानले हरेक वर्ष भेडीगोठ रुकुम पश्चिको बेँसीमा झार्ने गरेका छन् ।

पूर्वको भन्दा यहाँ पारिलो घाम लाग्ने र न्यानो हुने भएकाले भेडीगोठ सारेको बुढाले बताउनुभयो । भेडाले चिसो सहन नसक्ने भएकाले प्रत्येक वर्ष चिसो मौसममा भेडीगोठ बेँसी सार्ने गरेको उहाँको भनाइ छ । भेडीगोठाला भेडासँगै उनीहरूले सुरक्षाका लागि कुकुरसमेत लिएर आएको र साँखको जंगलमा अस्थायी गोठ बनाएर बसेका छन् ।

यहाँको चरणक्षेत्र राम्रो हुनुका साथै सुरक्षाका दृष्टिले पनि उपयुक्त भएकाले प्रत्येक वर्ष यहाँ भेडीगोठ सार्ने गरिएको करबहादुरले जानकारी दिनुभयो । पुसमा यहाँ झारिएका भेडा चैत मध्यसम्म बेँसीकै जंगलमा रहन्छन् भने गोठालाहरु पनि जंगलमै बस्छन् । त्यसपछि भेडाहरु हिमाली बुकी पाटनमा लैजाने गरिएको भेडापालक किसानहरुको भनाइ छ । उच्च हिमाली भेगमा रहेका बुकी पाटनमा भदौसम्म भेडा रहन्छन् भने असोज, कात्तिक र मंसिर तीन महिनासम्म घरमै राख्ने र चाडपर्व मनाउने गरिएको स्थानीय बताउँछन् ।

आफ्ना अभिावकसंगै यात्रा गर्नुपर्ने बाध्यताका कारण भेडा गोठालाका बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा प्रत्यक्ष असर परिरहेको छ । भेडाको बथानसंगै बसाई सरिरहनुपर्ने बाध्यता सँगै थुप्रै समस्याहरु रहेका छन् । खानपानका लागि अन्नपातको भारी, ओढ्ने, ओछ्याउने र त्रिपाल बोकेर पहाडहरुमा हुने यो खालको अस्थाई बसोबास निकै कष्टकर रहेको उनीहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?