logo
२०८१ बैशाख ७ शुक्रवार



काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी

प्रदेश |




सिमकोट, पुस १३ गते ।  हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र २ का स्थानीयवासीलाई आवतजावतमा बढी समस्या बनाएको छ ।

विसं २०७० मा साविक जिल्ला विकास समितिबाट रु पाँच लाखको लगानीमा बनाइएको काठेपुल जीर्ण अवस्थामा हुँदा पुनः भत्किएको छ । काठेपुल भत्किँदा ठेहे, दोजाम, ताक्ला, बाम्टा गाउँका स्थानीयवासीलाई आवतजावतमा बढी प्रभावित बनाएको छ । जीर्ण अवस्थामा रहेको काठेपुलमा आवतजावत गर्दै आएका यहाँका स्थानीयवासी अहिले सोही पुल भत्किँदा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता रहेको गाउँपालिका–१ निवासी देबन बोहराले बताउनुभयो ।

हेल्दुमखोलाको बाटो भएर वडा नं १ र २ का स्थानीयवासीलगायत अन्य सर्वसाधरणले आवतजावत गर्ने पुल नै भत्किँदा यहाँको स्थानीय सरकारले कुनै चासो नदिएको बोहराले बताउनुभयो । काठेपुल भत्किँदा ठेहे र दोजामका स्थानीयवासी बढी प्रभावित भएका छन् । उक्त नदीमा पुल नहुँदा दैनिक सदरमुकाम सिमकोटमा पुगेर उपभोग्य सामान खरीददेखि प्रशासनिक कामका लागि आवतजावत गर्नेलाई समस्या बनाएको नदी छेउमा होटल सञ्चालन गरिरहेका करण सुनारले बताउनुभयो । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेको सुनारले बताउनुभयो ।

आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं १ र २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा गाउँपालिकाकोे केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ ।” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?