logo
२०८१ बैशाख ८ शनिवार



बोलिभियामा नयाँ निर्वाचनको बाटो खुल्यो

अन्तर्राष्ट्रिय |


बोलिभियामा नयाँ निर्वाचनको बाटो खुल्यो


ला पाज,मङ्सिर ८ गते ।
दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसदले नयाँ निर्वाचनका लागि बाटो खोलिदिएको छ ।
संसदले शनिबार एक कानुन पारित गरेको छ र सो कानुनबमोजिम अब राजनीतिक संकट बढिरहेको यस देशमा नयाँ निर्वाचनको बाटो खुलेको पनि बताइएको छ ।
केही दिनदेखि राजनीतिक संकट चुलिएको छ । बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन हुनुभएको इभो मोरालेसका विरुद्धमा कैयौँ दिनदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शनहरु भइरहेका छन् । सुरक्षाबल र प्रदर्शनकारीबीच झडपहरु भइरहेका छन् । यस क्रममा केहीको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
राष्ट्रपति इभो मोरालेसका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । उहाँले भने राजीनामा गरिसक्नुभएको छ । सत्तामा उहाँको फिर्तीको माग गर्दै उहाँका समर्थकहरुले सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् ।
यसै विरोध प्रदर्शनलाई सम्बोधन गर्न भन्दै यहाँको संसदले नयाँ निर्वाचनको प्रस्ताव अघि सारेको हो । यस प्रदर्शनमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । कैयौँ दिनदेखि विरोध जारी छ ।
राष्ट्रपति इभो मोरालेसको अनुपस्थितिमा नै काम चलाउ सरकारले नयाँ निर्वाचनको प्रस्ताव गरेको छ । सोही प्रस्तावबमोजिम संसदका दुवै सदनले नयाँ निर्वाचनको लागि बाटो खुलाउने गरी मतदान गरेका छन् ।
प्रस्तावमा अक्टोबर २० मा भएको निर्वाचनमा प्रतिश्पर्धीहरुलाई भने प्रतिबन्ध लगाइएको छ । त्यस निर्वाचनको पुनः निर्वाचन नभएर यो नयाँ निर्वाचन हो ।
यसबाट अबको निर्वाचनमा सहभागी हुनबाट राजीनामा दिइ सकेका राष्ट्रपति मोरालेसलाई पनि रोक लगाएको छ । त्यसैगरी अक्टोबर २० को निर्वाचनमा सहभागी भएका अरु मुख्य प्रतिश्पर्धीलाई पनि यस नयाँ निर्वाचन कानुनले प्रतिबन्ध लगाइदिएको बताइएको छ ।
शनिबार संसदले यो नयाँ निर्वाचनको विकल्प निकालेपछि भने यहाँका नागरिकले आन्दोलन रोक्न सक्ने अनुमान गरिएको छ । तर पनि राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उहाँको समर्थकहरुले भने जारी प्रदर्शन रोक्ने नरोक्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गर्नुभएको थियो । सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गर्नुभएको हो । त्यसपछि मेक्सिकोतर्फ लाग्नुभएको र मेक्सिकोले उहाँलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ । राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरूले बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए । विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए ।
मोरालेसले बोलिभियाको राष्ट्रपतिका रुपमा करीब १४ वर्ष शासन सञ्चालन गर्नुभएको थियो । तर यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उहाँ झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी हुनुभएको थियो । यस निर्वाचनलाई विपक्षीहरुले भने मोरालेसले धाँधली गरेर चुनाव जितेको भन्दै चुनावी परिणाम नै अस्वीकार गरेका थिए । संसदले नयाँ कानुन बनाएपछि भने मोरालेसका समर्थकहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुले नयाँ निर्वाचनमा सहभागी हुने या नहुने भन्नेमा केही बताएका छैनन्

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?