logo
२०८१ बैशाख ७ शुक्रवार



ग्रामीण सडकमा धूलोको सास्ती

प्रदेश |


ग्रामीण सडकमा धूलोको सास्ती


सर्लाही, कात्तिक २५ गते । हिउँद लागेसँगै सर्लाहीको ग्रामीण सडक धुलाम्मे भएका छन् । जिल्लाको बलरादेखि सङ्ग्रामपुरसम्मको पूर्व–पश्चिम हुलाकी सडक, श्रीनगर–सङ्ग्रामपुर, चन्द्रनगर–मलङ्गवा, सलेमपुर–हीरापुरलगायतका भित्री सडक धूलाम्मे भएका हुन् ।

वर्षौदेखि जीर्ण ग्रामीण सडक बर्खामा हिलाम्मे र हिउँदमा धूलाम्मे हुने गरेका छन् । विष्णु गाउँपालिका–३, का बिन्तिप्रसाद चौधरीले सदरमुकाम मलङ्गवासम्म आउने हुलाकी सडक अहिले धूलाम्मे भएकाले आवातजावत गर्न निकै मुस्किल परिरहेको गुनासो गर्नुभयो ।

वैकल्पिक सडक नहुँदा धूलाम्मे सडकबाट कुरुप हुँदै मलङ्गवासम्म ओहोरदोहार गर्नु परेको उहाँले बताउनुभयो । धूलाम्मे सडकको यात्राले स्थानीय बासिन्दा बिरामी पर्ने गरेका छन् । जिल्लाको नवलपुर–मलङ्गवा र नयाँरोड–बरहथवा सडकको अवस्था केही सुधार भए पनि अन्य हुलाकी र भित्री सडकको अवस्था अहिले दयनीय बनेको छ ।

नवलपुर–मलङ्गवा सडकको गैर बजार क्षेत्रमा नालाको विवाद र नयाँरोड–बरहथवा सडकको मूर्तिया जङ्गल क्षेत्रमा रुख कटान नहुँदा कालोपत्रे हुन सकेको छैन् । त्यस ठाउँमा पनि धूलोको मार खेप्नु परेको स्थानीय वाषिन्दाले बताएका छन् । सदरमुकाम मलङ्गवाका अधिकांश सडक समेत धुलाम्मे भएका छन् ।

मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले भने स्थानीय तहको निर्वाचन अघि अस्तब्यस्त रहेका धेरैजसो सडक आफूहरु निर्वाचित भएर आएपछि सुधार भएको दावी गर्नुभएको छ । उहाँले सडक डिभिजन कार्यालयले हेर्ने नगरभित्रको हुलाकी सडकमा समस्या रहेपनि नगरपालिका मातहतका सडकको स्तरोन्नति गर्ने काम क्रमैसँगै भइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?