logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकामा सवारीसाधनको बाटो निर्धारण हुन सकेन

खुला |


उपत्यकामा सवारीसाधनको बाटो निर्धारण हुन सकेन


काठमाडौं, कात्तिक २२ गते । काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारी साधन कम मात्रै चल्दा स्थानीयवासी हैरान छन् ।

डेढ वर्ष पहिले यातायात व्यवसायीको एकाधिकार तोडेसँगै यातायात व्यवस्था विभागले मार्ग निर्धारणका लागि अध्ययन गरे पनि त्यसको प्रतिवेदन आउन सकेको छैन । मार्ग निर्धारण नभएर व्यवसायीले चाहेको स्थानमा सवारी साधन चलाउँदा बढी नाफा हुने ठाउँमा मात्रै व्यवसायी जाने गर्दा समस्या भएकोे विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो ।

पहिले यातायातको व्यवस्थापन नेपाल सरकारले मात्रै गर्ने भए पनि अहिले प्रदेश सरकार र स्थानीय तहको पनि कार्यक्षेत्रमा पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तीनै तहका सरकारले आपसी छलफल र समन्वयमा रुट निर्धारण गर्न सकिन्छ ।” उपत्यकाको सवारी साधनको व्यवस्थापनकै लागि सरकारले गत वर्ष राष्ट्रिय यातायात प्राधिकरणको गठन गर्ने निर्णय गरे पनि गठन हुनसकेको छैन ।

पाँच वर्षका लागि काठमाडौँ उपत्यकाको सवारी व्यवस्था व्यवस्थापन र नियमन गर्नका लागि प्राधिकरण गठन गर्ने भनिएको थियो । प्राधिकरण गठन नहुँदासम्म स्थानीय तह र प्रदेशसँग मिलेर विभागले नै काम गर्ने महानिर्देशक हमालको भनाइ छ । विभाग मातहत रहेका यातायात व्यवस्था कार्यालय पनि सरकारले गत वर्ष नै प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?