logo
२०८१ बैशाख ७ शुक्रवार



जंगली हात्तीको आक्रमण बढेपछि हात्तीसारकै हात्ती सारियो

प्रदेश |


जंगली हात्तीको आक्रमण बढेपछि हात्तीसारकै हात्ती सारियो



जयकृष्ण यादव 

लौकही(सुनसरी), असोज २९ गते । सुनसरीको कोशी टप्पुबन्य जन्तु आरक्षबाट निस्केको जंगली हात्तीले आक्रमण गर्दा मानिसको ज्यान गएको र केही घाईते भएको भन्दै स्थानीय आन्दोलित भएकाले आरक्षको हात्तीसारको हात्ती अन्यत्र सारेको छ ।

पच्छिलो पटक सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ पश्चिम कुशाहाका एक जना हात्ती आक्रमणमा परि गम्भिर घाईते भएकाले स्थानीयलाई थामथुम पार्नका लागि हात्तीसारको हात्ती सप्तरी तर्फ सारेका छन् । सुनसरी तर्फ केही वर्षयता लगातार रुपमा हात्ती आतंक बढेकाले आरक्षको कार्यालय परिसरमा रहेको हात्ती सारका सात हात्ती सप्तरी तर्फ सारेको हो ।
आरक्षको हात्ती सारमा रहेका सबै हात्ती पोथी भएकाले भाले जंगली हात्ती आएको भन्दै स्थानीयको आक्रोस र आरोप बढेपछि आरक्षले केही समयका लागि आरक्षकै सप्तरी तर्फको फत्तेपुरमा सारेको छ ।
आरक्षले बुधबार दुई बच्चा हात्ती र पाँच माउ हात्ती सहित सात हात्ती सप्तरीको फत्तेपुरमा सारेको आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार आरक्षमा रहेको माकुने जंगली हात्तीको आक्रमणबाट गएको शुक्रबार राती ११ बजेको समयमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते हुनुभएकाले स्थानीयहरु आन्दोलनमा उत्रेको र प्रशासनको रोहबरमा सर्वपक्षिय छलफल हुदाँ तत्काल समस्या समाधानका लागि हात्ती सार्ने भनेकाले सारिएको हो ।

सात माहुते सहित हात्तीसारको हात्ती सारिएको उहाँले बताउनुभयो । यादवलाई कोशीटप्पु वन्यजन्तु आरक्षणबाट निस्किएको जंगली हात्तीले आक्रमण गर्दा गम्भिर घाईते हुनुभएको थियो ।
घटना भएको दिन घाईतेका आफन्त र स्थानीयहरुले हात्ती नियन्त्रणको माग गर्दैै पूर्वपश्चिम राजमार्गको कोशी नहर चौक खण्डमा चक्काजाम गर्दै प्रदर्शन गरेका थिए भने जंगली जनावर आतंक रोक्नुपर्ने, गस्ती बढाउनुपर्ने, आरक्षबाट पीडितहरुलाई तत्काल राहत र क्षतीपुर्ती दिनुपर्ने माग गर्दै स्थानीयवासीले कोशीटप्पु कार्यालय घेराउ गरेको थियो ।

आरक्षको कारणले कोशीका जनता सबै भन्दा बढी पीडित भएकाले हात्ती सार सानुपर्ने की त जंगली हात्तीलाई पूर्ण नियन्त्रण गर्नुपर्ने भन्दै दबाबका लागि घेराउ र चक्काजाम गरेकोमा आरक्षबाट सहमतीमा नै सार्ने काम भएको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?