logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल–सीमामा घर फर्किनेको घुइँचो

प्रदेश |


नेपाल–सीमामा घर फर्किनेको घुइँचो


राँझा, असोज १७ गते । भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो ।

उहाँका अनुसार, सीमावर्ती भारतीय बजार रुपैडिहाबाट बिहानैदेखि घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ । उनीहरु टाँगा, रिक्सा र पैदल हिँड्दै पनि नेपाल भित्रिने गरेका छन् । यसबाहेक भारतका विभिन्न शहरबाट नेपालमा सञ्चालन भइरहेका सीधा बस सेवामा समेत घर फर्किने यात्रुको चाप रहेको छ ।

नेपालगञ्जबाट दिल्लीको लागि नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गर्दै आएको भेरी यातायात प्रालि नेपालगञ्जका अध्यक्ष राजेन्द्र गिरीले अहिले दिल्लीबाट नेपाल फर्किने बस यात्रुले भरिभराउ हुने गरेको बताउनुभयो । भारतका अन्य शहरबाट नेपालको दाङ, कपिलवस्तु, बुटवललगायतका स्थानमा सञ्चालन हुने सीधा बस सेवामा समेत अहिले यात्रुको चाप बढिरहेको उहाँको भनाइ छ ।

नेपाल प्रहरीले भारतबाट घर फर्किने नेपालीको सहयोगका लागि जमुनाहा नाकामा सहायताकक्ष स्थापना गरेको छ । भारतीय सवारी साधनबाट रुपैडिहा आइपुगेका नेपालीको सहयोगका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको प्रहरी नायब निरीक्षक रिजालले जानकारी दिनुभयो ।

घर फर्किने नेपालीहरु रिक्सा, टाँगावालाबाट ठगिन नदिन नेपालगञ्ज बसपार्कसम्म सुरक्षितरुपमा पठाउने व्यवस्था मिलाइएको उहाँको दाबी छ । होटलमा ठगिन र लुटिनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै परामर्शसमेत दिने गरेको रिजालको भनाइ छ । भारतको सिमलाबाट घर फर्किदै गरेका सल्यान बनघार कुपिण्डे नगरपालिकाका नरबहादुर सुनारले सीमानाकामा नेपाली प्रहरीले राम्रो व्यवहार गरेको बताउनुभयो । आफूहरु सजिलैसँग नेपालगञ्ज पुगेको उहाँले जानकारी दिनुभयो ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली दशैँ पर्व मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सिमानानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकका काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि प्रदेश नं ५ र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

दशैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले त्यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजक बनाइएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । भारतबाट घर फर्किने नेपालीलाई सीमामा लुटपाट र दुःख दिने कार्य रोक्न भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको समेत उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?