logo
२०८१ बैशाख ६ बिहीवार



छ दिनदेखि मालपोत कार्यालयको कामकाज ठप्प

प्रदेश |


छ दिनदेखि मालपोत कार्यालयको कामकाज ठप्प


जलेश्वर, असोज ६ गते । महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज विगत छ दिनदेखि ठप्प रहेको छ । सरकारले यही असोज १ गतेदेखि नै देशभरिका मालपोत कार्यालयको कामकाज अनलाइनमार्फत गर्ने कार्यक्रम लागू गरेपछि सोही दिनदेखि उक्त कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको प्रमुख भूपबहादुर बोगटीले बताउनुभयो ।

उहाँका अनुसार मालपोतको सबै कामकाज अनलाइन भएपछि यहाँबाट हुने मोठ, रोक्का, रजिष्ट्रेशन, नामसारी, मुद्दा, तामेली लगायतका सबै कामकाज कम्प्युटरबाट गर्नुपर्ने भएको छ । तर यहाँ त्यस्ता काम गर्ने कार्यरत कर्मचारीलाई कम्प्युटरसम्बन्धी ज्ञान नभएको तथा चलाउन नजानेकाले मालपोतको सबै कामकाज ठप्प रहेको उहाँले बताउनुभयो ।

उहाँले तालीम प्राप्त दक्ष जनशक्ति नहुँदा कामकाज अनलाइनबाट गर्न नसक्ने भएकाले कामकाज ठप्प रहेको जानकारी दिनुभयो । उहाँले विभाग र मन्त्रालयले यहाँका कर्मचारीलाई कम्प्युटरसम्बन्धी तालीम दिएर बिस्तारै उक्त प्रणाली लागू गर्नुपर्नेमा एक्कासि सबै काम अनलाइनबाट गर्न आदेश दिएपछि समस्या भएको बताउनुभयो ।

मालपोत विभागले एस.आर.एस. कन्सल्टेन्सी काठमाडौँबाट तालीम दिनका लागि प्रतिनिधि गजेन्द्र ठाकुरलाई पठाएर एकहप्ते तालीम दिइसकेको छ । तर पनि यहाँका कर्मचारीले अनलाइनबाट काम गर्न नसकेका ठाकुरले जानकारी दिनुभयो । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशनका अध्यक्ष श्यामसुन्दर यादवले नयाँ प्रविधिबाट होस् वा पुरानो प्रविधिबाटै होस् कार्यालयले जनताको कामकाज गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?