logo
२०८१ बैशाख ७ शुक्रवार



स्वास्थ्य सेवाको गुणस्तरीयता बढ्दै

प्रदेश |




सुरेन्द्र खत्री-
रुकुम (पश्चिम), असोज १ गते । जिल्लाको त्रिवेणी गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सेवाको गुणस्तरीयता बढ्दै गएको छ । त्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनमा गुणस्तर सुधार हुँदै गएको देखिएको हो ।

विभिन्न कार्यक्रमहरुले यहाँका स्वास्थ्य संस्थाहरुको गुणस्तरमा सुधार भएको गाउँपालिकाले जनाएको छ । पहिलेभन्दा अहिले गुणस्तरमा सुधार हुँदै गएको देखिए पनि पूर्ण रुपले चित्त बुझाउन सक्ने अवस्था भने भईनसकेको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगरले बताउनुभयो ।

‘अहिलेका प्रायः गतिविधिहरु समुदायकेन्द्रित रहेका छन् ।’ उहाँले भन्नुभयो, ‘अबका गतिविधिहरु विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईहरुमा पनि केन्द्रीत गर्नुप¥यो ।’ गाउँपालिकाको स्वास्थ्य अवस्थाको सुधार गर्न जनप्रतिनिधि, कर्मचारी र संघसंस्थाहरु सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्ट खड्काले स्वास्थ्य संस्थाहरुको नियमित अनुगमनलाई जोड दिँदै सेवाको सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिवेदनहरुमा काम गरेको देखिए पनि तथ्याङ्कलाई व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्रिवेणी गाउँपालिका –१ का वडाध्यक्ष मोहनकिशोर ओलीले मानव विकासका लागि सचेतनामूलक कार्यक्रमहरु आवश्यक भएकाले पूर्वाधारको विकासमा मात्र ध्यान नदिन गाउँपालिकालाई आग्रह गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले तथ्याङ्क संवेदनशील भएकोले स्वास्थ्य सम्बन्धी तथ्याङ्क तथ्यपूर्ण हुनुपर्ने बताउनुभयो । समीक्षा कार्यक्रम गाउँपालिका अन्तर्गतका चारवटा स्वास्थ्य चौकी, गाउँपालिकाले सञ्चालन गरेको त्रिवेणी अस्पताल र विभिन्न सरोकारवाला संघ संस्थाहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?