logo
२०८० चैत्र १६ शुक्रवार



दैलेखका ११ स्थानीय तहमा छैनन् सार्वजनिक शौचालय

प्रदेश |


दैलेखका ११ स्थानीय तहमा छैनन् सार्वजनिक शौचालय


दैलेख समाचारदाता
दैलेख, भदौ १८ गते । दैलेख भगवतीमाई गाउँपालिका वडा नं. २ का राजन शर्मा दैलेख सदरुमुकाम पुग्नुभयो । जिल्ला प्रशासनमा नाता प्रमाणित गर्न आउनुभएका उहाँलाई शौच गर्नुपर्ने अबस्था भएपछि सार्वजनिक शौचालयको खोजी गर्नुभयो ।

बसपार्क सेरोफेरोमा सार्वजनिक शौचालय नभएपछि उहाँले एक होटलमा चिया खाने बाहानामा शौचालय जानुभयो ।

शौचालय गरेर आएपछि उहाँले चिया खाएर पैसा तिर्नुभयो । दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिकाका वडा नं. ६ मनबहादुर कार्की पनि दैलेख सदरमुकाम आउनुभयो । उहाँलाई गाडीमै शौचले च्यापेपछि हतार हतारमा सार्वजनिक शौचालय खोजी गर्नुभयो ।

सार्वजनिक शौचालय नभएपछि उहाँले चिया खाने बहानामा होटलभित्र पस्नुभयो । उहाँ मात्र होइन नारायण नगरपालिकामा आउने सबै यात्रीहरुले यस्तो सास्ती खेप्नु परेको छ ।

नारायण नगरपालिकामा सार्वजनिक शौचालय निर्माण गर्न लाखौं रकम खर्च गरे पनि निर्माण भएका सार्वजनिक शौचालय प्रयोगविहिन अवस्थामा रहेका छन् । नारायण नगरपालिकाले दैलेखका तीन वटा स्थानमा सार्वजनिक शौचालय निर्माण गरे पनि उक्त शौचालय प्रयोगमा नआउँदै बन्द भएका छन् ।

केही वर्ष अघि खुल्ला दिशामुक्त अभियान संचालनको क्रमममा नारायण नगरपालिकाले लाखौं रकम खर्च गरेर निर्माण गरेको सार्वजानिक शौचालय संचालनमा नआउँदै बन्द भए पनि दैलेख सदरमुकाममा यात्रा गर्ने यात्रीहरुलाई समस्या भएको छ ।

नारायण नगरपालिका दैलेखका नायव सुब्बा गोविन्द्र अधिकारीले सार्वजनिक शौचालय निर्माण र त्यसमा जाने बाटो निर्माणका लागि ५० लाख रुपियाँ भन्दा बढि रकम खर्चभएको भए पनि ठेकेदारको लापारवाही र शौचालयका लागि आवश्यक पर्ने सार्वजनिक जग्गाको समस्याका यो समस्या आएको बताउनुभयो ।

बजारमा सार्वजनिक शौचालय निर्माण गर्ने ठाँउ छैन । नगरपालिकाले निर्माण गरेका शौचालयहरु एउटा विद्यालय, उद्योग वाणिज्यसँग र एउटा सार्वजनिक स्थानमा शौचालय निर्माण गरेको बताउनुभयो ।

नारायण नगरपालिकाको लापरवाहीका कारण बनेका शौचालय समेत प्रयोगमा नआएको स्थानीयले बताएका छन् । नगरपालिकाले निर्माण कार्य सम्पन्न नहुँदै ठेकेदारलाई भुत्तानी दिएको स्थानीयको भनाई रहेको छ ।

उद्योग वाणिज्य संघ र बजारको त्रिभुवन माबिको पछाडि निर्माण गरिएको सार्वजनिक शौचालय एक महिना जति प्रयोग आए पनि दुल्लु जाने सडकमा निर्माण गरिएको शौचालय निर्माण कार्य सम्पन्न नभएका कारण प्रयोगमा आउन सकेन ।

केही वर्ष अघि तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको दैलेखका जिल्लाका ११ वटै स्थानीय तहमा सार्वजनिक शौचालयको अभाव छ ।

जिल्लाका ११ स्थानीय तहमा सार्वजनिक शौचालय अभाव हुँदा यात्रा गर्ने यात्रुहरुलाई सास्ती खेप्नु परेको छ ।

तत्कालीन जिल्ला विकास समिति मार्फत रहेको गाउँ विकास समिति र जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले शौचालय निर्माण गर्ने बहानामा पातीले बारेर पिनसेट राखेर खुल्ला दिशामुक्त गाबिसहरु घोषणा भएका कारण अहिले यो समस्या भएको नागरिकहरु बताउँछन् ।

स्थानीय सरकार गठन भएको साँढे दुई वर्ष पुग्नै लाग्दा समेत स्थानीय सरकारले अहिले सम्म सार्वजनिक शौचालय निर्माण गर्न सकेको छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?