logo
२०८१ बैशाख ८ शनिवार



हिल्साबासीको पीडा, नेपाली भूमि चिनियाँ सिमकार्ड

प्रदेश |


हिल्साबासीको पीडा, नेपाली भूमि चिनियाँ सिमकार्ड


राजन रावत
सिमकोट भदौ ६ गते । चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको उत्तरी नाका हिल्सा क्षेत्रमा चिनियाँ मोबाइल नम्बरबाट हुम्लाबासीले टेलिफोन सुविधा पाएका छन् ।
नेपाल टेलिकमले नारा लेकमा टावर स्थापना गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारणले अहिलेसम्म स्थापना गर्न नसकेकाले यस्तो परिस्थिति आएको हो ।
हिल्सामा हालसम्म नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन नहुँदा हिल्सामा रहेका कर्मचारी, व्यापारी र स्थानीय चिनियाँ सिम प्रयोग गर्न बाध्य भएको होटेल मानसरोवरकी पेमा लामाले बताउनुभयो ।
अहिलेको जमानामा हाम्रो देशको मोबाइल नेटवर्क नभए पनि चिनियाँ सिमबाट भए पनि आफन्त तथा अन्य काम परेका बेला सम्पर्क भैरहेको र यसले हिल्साको सञ्चारको आवश्यकता पूर्ति गरेको उहाँ बताउनुहुन्छ ।
हिल्सामा कुल ८० घरधुरीले यस्ता सिम प्रयोग गरिरहेको सीमा प्रहरी पोष्ट हिल्साका प्रहरी सहायक निरिक्षक दलबहादुर श्रेष्ठले बताउनुभयो । प्रहरीले पनि आफ्ना सेटले काम नगरेको बेला जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रयोग भइरहेको छ । प्रहरी, व्यापारी, कर्मचारी र अरु सर्वसाधारणले पनि यसै सिम मार्फत् सम्पर्क गर्ने गरेको उहाँले बताउनुभयो ।
नेपालीले हिल्सामा प्रयोग गर्ने गरेको दुई किसिमका सिम मध्ये पचास चिनिया युआनमा पर्नेले फोन गर्न नमिल्ने भए पनि एसएमएस गर्न मिल्ने तर एकसय युआन पर्ने सिमबाट नेपालमा फोन गर्न मिल्ने बताइएको छ ।
एकसय युआन मूल्य पर्ने सिम ३० वटा रहेको प्रहरीले जनाएको छ । सिममा रिचार्ज गर्न प्रत्येक महिनाको एक तारिखमा कुर्नुपर्छ । सिमकोटका व्यापारी तथा हेलिकोप्टर कम्पनीले पनि हिल्सामा रहेका आफ्ना प्रतिनिधिलाई यही सुविधा लिएका छन् । ताक्लाकोट हुँदै हिल्साबाट सामान झिकाउन सिमकोटका व्यापारीले यही सुविधा प्रयोग गर्दै आफ्ना व्यवसाय गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?