logo
२०८१ बैशाख ८ शनिवार



स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति : उपसभापति गुरुङ

राजनीति |


स्थानीय तहको निर्वाचनबारे सत्तारुढ दलबीच सहमति : उपसभापति गुरुङ


चितवन, माघ ४ गते । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो ।” निर्वाचनको विषयमा दुई चार दिनभित्रै निर्णय आउने उहाँको भनाइ छ । स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरु गठबन्धन नगरी निर्वाचनमा जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैचारीक कुरा गर्ने हो भने बहुलबादमा आधारित संसदीय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो ।”

उहाँले राजनीतिक दल आफ्नो एजेन्डा, दृष्टिकोण नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्छ भन्नुभयो ।

पार्टीभित्र फेरि समूहगत राजनीति चलेको भन्ने हल्ला निराधार रहेको उहाँको भनाइ छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उहाँले यो वा त्यो समूह भन्ने कुरा नभएको जिकिर गर्नुभयो । “निर्वाचनमा समूह हो अब होइन” उहाँले भन्नुभयो । निर्वाचनपछि सबैको साझा सभापति, पदाधिकारी र केन्द्रीय सदस्य रहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?