logo
२०८० चैत्र १६ शुक्रवार



पाँचकाटिया–बारेकोट हुँदै जुम्ला सडकको निर्माण शुरु

प्रदेश |


पाँचकाटिया–बारेकोट हुँदै जुम्ला सडकको निर्माण शुरु


जाजरकोट, असोज ६ गते । खलङ्गा–पाँचकाटिया सडकको ट्याक खुला भएको करीब नौ वर्षपछि पाँचकाटिया फूलचाउली, कार्याल्दापाखा, बारेकोट र चाँखुरे हुँदै जुम्ला जोड्ने सडक निर्माण गरिने भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र धरालाले अबको दुई महीनाभित्र सडक निर्माण शुरु गरिने बताउनुभयो ।
सडक निर्माण नहुँदा स्थानीयवासी आक्रोशित थिए । जुम्ला जोड्ने मुख्य सडक भएर पनि सरकारी बेवास्थाका कारण यहाँका बासिन्दाले सडक उपभोग गर्न पाएका थिएनन् । जाजरकोट सदरमुकामदेखि पाँचकाटीया हुँदै बारेकोटबाट जुम्ला जोड्ने छोटो दूरीको यो सडक भएकाले यसको निर्माण हुन लागेकामा स्थानीयवासी खुशी भएका छन् ।

बोलपत्र आह्वान भएसँगै सडक निर्माणको बाटो खुले पनि सडक निर्माणका लागि स्थानीयवासीले सहयोग गर्नुपर्ने कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “जाजरकोट जिल्लाभर प्रदेश सरकारका सडक हेर्ने गरी मङ्गलबार सदरमुकाममा कार्यालय खुल्दैछ, तिब्र गतिका साथ काम गराइन्छ, त्यसैले सर्वसाधारणले पनि सहयोग गर्नुप¥यो ।”

पहिलो चरणमा साढे तीन करोडभन्दा बढी बजेट खर्च हुने जानकारी दिँदै प्रदेशसभा सदस्य सिंहले थप्नुभयो, “अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षको बजेट एकैपटक यो सडकमा हालेर सडक निर्माण तिहारलगत्तै गरिनेछ, १६ किलोमिटरभन्दा बढी सडक यो आर्थिक वर्षमा निर्माण हुनेछ ।”
सो सडक निर्माण भएपछि आन्तरिक सडक निर्माणको बाटो पनि खुल्नेछ । अहिले घोडेटो बाटोमा घोडा र खच्चडले दैनिक ढुवानी गर्दै आएका छन् । भेरी नगरपालिका, कुशेगाउँपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिकालाई समेत यो सडकले सहयोग पु¥याउनेछ । लिम्सास्थित वीरेन्द्र ऐश्वर्य माविका प्रचार्य गोरखबहादुर सिंहले बारेकोटका बासिन्दाको भाग्यसँग जोडिएको यो सडक निर्माणले बारेकोटको पर्यटन, कृषि तथा जडीबुटीमा समेत फाइदा हुनाका साथै जुम्लासँग पनि सिधा सम्पर्क हुने बताउनुभयो ।

उक्त सडक निर्माण पछि बारेकोट गाउँपालिका पनि सडक सञ्जालसँग जोडिने र चालु आर्थिक वर्षमै जाजरकोट–डोल्पा सडकखण्डको आठबिसकोट नगरपालिकाको घेत्मा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
त्यस्तै तल्लो डोल्पाको त्रिवेणी नर्कु, सर्मी, भालुलेक जुम्ला सडक रु चार करोड ९० लाखमा निर्माणका लागि बोलपत्र स्विकृत गरिएको छ । जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्ने तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाभित्र पर्ने यो सडक पनि तिहारलगत्तै निर्माण गरिने भएको छ ।

जाजरकोट हुँदै जाने यी सबै सडक निर्माण भएपछि आर्थिक विकासका लागि मार्ग प्रशस्त हुने र बीच भागमा पर्ने जाजरकोटले यसको फाइदा लिनुपर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । त्यस्तै जाजरकोट सदरमुकामदेखि रिम्ना हुँदै दल्लीसम्मको सडक स्तरोन्नतिका लागि गत वर्ष भएको बोलपत्र (ठेक्का) रद्द भए पनि यो वर्ष पूर्ण गरिने चौरजहारी सडक विभागका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो ।

यो सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएकाले स्थानीयवासीले जग्गा दिन तयार भए यसै वर्ष बोलपत्र आह्वान गरेर काम शुरु गरिने उहाँको भनाइ थियो । स्थानीयवासीलाई जग्गा दिनका लागि मन्जुर गराउन आठबिसकोट नगरपालिका र भेरी नगरपालिकाले प्रतिबद्धता जनाएकाले चालु आवमै बोलपत्र आह्वान हुने सम्भावना बढेको प्रमुख भटृले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?