logo
२०८१ बैशाख १४ शुक्रवार

१० तस्बिरमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण

फोटो फिचर |
राजनीति |


2022-03-27-60825
आइतबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटमा चिनियाँ विदेशमन्त्री वाङ यी। तस्बिर : शेखर चौलागाई


काठमाडौं, चैत १३ गते। तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किनुभएको छ। शुक्रबार साँझ पाँच बजे काठमाडौं आइपुग्नुभएका वाङ आइतबार दिउँसो स्वादेश फर्किनुभएको हो। नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो। शिष्टाचार भेट र छलफलसँगै उहाँले केही सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

शनिबार नेपालका समकक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेट गर्दै औपचारिक भेटवार्तालाई निरन्तरता दिनुभएका वाङले आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दै औपचारिक वार्ता सक्नुभएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुँदै चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिरः रोशन सापकोटा, रासस

नेपाल भ्रमणको क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभयो। आइतबार बिहान शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरे गर्नुभएका वाङले शनिबार साँझ प्रधानमन्त्री देउवासँग उहाँको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको हो।

वाङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीसँग भने आइतबार बिहान भेटवार्ता गर्नुभएको हो। चिनियाँ विदेशमन्त्रीको तीन दिने भ्रमणलाई नेपालमा महत्वका साथ हेरिएको छ। भ्रमणका क्रममा विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचोसमेत परराष्ट्रमन्त्री मार्फत् नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको छ।

नौ वटा समझदारीमा हस्ताक्षर

परराष्ट्रमन्त्री खड्का र चीनको राज्यपरिषद् सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री वाङ बीच सम्पन्न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा सम्झौतामा हस्ताक्षर भएको छ।

नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षित रुपमा स्वास्थ्य घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ।

चीनसँग विभिन्न सम्झौतामा हस्ताक्षरपछि परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिर सुजन गुरुङ

त्यसैगरी चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायता, चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो।

नेपाल र चीनबीचको सम्झौतामा परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी थियो। नेपालको तर्फबाट परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति परराष्ट्रमन्त्री डा. नारायण खडकालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्दै चीनका विदेशमन्त्री वाङ यी । तस्बिरः रोशन सापकोटा, रासस

चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रतिनिधि मण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेशमन्त्री याङका सचिव देङ झेइलगायत पदाधिकारी संलग्न हुनुहुन्थ्यो।

पोखरा विमानस्थलको साँचो हस्तान्तरणपछि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खडका र चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिरः रोशन सापकोटा, रासस

तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको राजधानी नयाँदिल्लीबाट शुक्रबार नेपाल आउनुभएको हो। वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदीलगायतले स्वागत गर्नुभएको थियो। आइतबार उहाँहरु नै विमानस्थल पुगेर विदेशमन्त्री वाङलाई विमानस्थलमा पुगेर बिदा गर्नुभएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिरः रत्न श्रेष्ठ/रासस


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुहुँदै विदेशमन्त्री वाङ यी । तस्बिरः नवीन पौडेल/रासस

चिनियाँ विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा स्वागत गर्दै परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत । तस्बिरः सुजन गुरुङ

आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीलाई बिदाई गर्नुहुँदै परराष्ट्र सचिव भरतराज पौड्यालगायत परराष्ट्र मन्त्रालयका अधिकारी । तस्बिरः रत्न श्रेष्ठ/रासस

चिनियाँ विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिदाई गर्दै यहाँस्थित चिनियाँ राजदूत हउ यान्छीलगायत दूतावासका अधिकारी । तस्बिरः रत्न श्रेष्ठ/रासस